इटहरीमा आइतबारदेखि तीन दिने इष्टर्न टुरिजम मार्ट, कोशीको पर्यटन प्रबर्धनमा सहयोग पुग्ने विश्वास

विहीबार, २२ फागुन २०८१
इटहरी :इटहरीमा आइतबारदेखि तीन दिने इष्टर्न टुरिजम मार्टको आयोजना हुने भएको छ । पाँचौ इष्टर्न टुरिजम मार्ट अन्तर्गत तीन दिने मार्ट आयोजना गर्न लागिएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो । नेपाल पर्यटन बोर्डको लगानी, कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाको आर्थिक सहयोगमा मार्टको आयोजना गर्न लागिएको जानकारी दिइयो । नेपाल पर्यटन बोर्डका कार्यक्रम प्रबन्धक उदय भट्टराईका अनुसार फागुन २५ गते इटहरीको सोल्टी वेष्टनमा उद्घाटन हुने मार्ट २७ गते विराटनगरको इष्टर्न स्टारमा समापन हुनेछ । ‘भारतका तीन प्रदेश बंगाल, बिहार र सिक्किमबाट र भुटानका गरी एक सय बढी पर्यटन व्यवसायी, पत्रकार र पर्यटनकर्मी सहभागी हुने हाम्रो विश्वास छ,’ भट्टराईले भने, ‘नेपालका र खासगरी कोशी प्रदेशका पर्यटन सम्बद्ध सस्थाका नेतृत्वहरू सहभागी हुनेछन् ।’ उनका अनुसार कोशी प्रदेशबाट पर्यटन व्यवसायी, ग्रामीण पर्यटनकर्मी र धार्मिक पर्यटन क्षेत्रका संस्थाहरूबाट पर्यटन सम्बद्द स्टल राखिनेछ । कार्यक्रम संयोजक देवी गौतम (रविन)का अनुसार कोशी प्रदेश सरकारले भ्रमण वर्ष २०८२ मनाउने तयारी गरिरहँदा उक्त मार्टले पर्यटनको प्रबद्र्धन गर्नेछ । मार्टमा एक सय ५० वटा स्टल राखिनेछ । ‘पर्यटनको प्रवद्र्धन र विकासका लागि एकीकृत प्रयास गर्ने उद्देश्यले इष्टर्न ट्राभल मार्टको आयोजना गर्न लागिएको हो,’ उनले भने, ‘कोशी प्रदेशको पर्यटनका मुख्य लक्षित वर्ग भारतीय पर्यटकहरू र प्रदेशका पर्यटन व्यवसायीहरूबीच एक स्थानमा जमघट गराएर व्यवसाय आदानप्रदान गर्ने यसको मुख्य उद्देश्य हो ।’ मार्ट आयोजक समितिका सचिव वासुदेव बरालका अनुसार २५ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कार्यक्रमको शुभारम्भ गर्नेछन् । २६ गते धरान, भेडेटार, बराहक्षेत्र, कोशी टप्पु, रामधुनी लगायतका स्थानहरूको भ्रमण कार्यक्रम हुनेछ । यसैगरी सोही दिन यहाँका स्थानीय र खासगरी पर्यटनमा चासो राख्ने व्यक्तिहरूका लागि स्टल भ्रमण गर्ने समय तय भएको छ । स्टल राख्ने र स्टल अवलोकन गर्नेहरूले कुनै शुल्क तिर्नु नपर्ने बरालले बताए । साथै, सोही कार्यक्रमको अवसर पारेर पूर्वको पर्यटन पूर्वाधारमा ठूलो लगानी गर्ने व्यवसायीहरूलाई पर्यटन अवार्डद्वारा सम्मानसमेत गरिने उनको भनाइ छ । खासगरी पहाडी र तराई समुदाय बसोबास गर्ने घरको स्वरूप निर्माण गरिएको उनले बताए । मार्ट आयोजना अवधिभर करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसका लागि प्रदेश सरकार र इटहरी उपमहानगरले पाँच–पाँच लाख रुपैयाँ लगानी गर्ने र ३० लाख रुपैयाँ पर्यटन बोर्डले लगानी गर्ने बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार