बराह सहकारी ठगी प्रकरण : आठ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, तीन जना धरौटीमा छुटे

शुक्रबार, २३ फागुन २०८१
सुनसरी :  जिल्ला अदालत सुनसरीले धरानस्थित मुख्य कार्यालय रहेको बराह बचत तथा ऋण सहकारीका ११ पक्राउ परेका व्यक्तिहरूमध्ये आठ जनालाई पुर्पक्षका लागि कारागारमा पठाउने आदेश दिएको छ। जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश मुकेश उपाध्यायको इजलासले बिहीबार उक्त आदेश जारी गरेको हो। बराह सहकारीसँग सम्बन्धित ११ अर्ब भन्दा बढी रकमको अपचलन प्रकरणमा २६२ जनालाई प्रतिवादी बनाइएको छ र उनीहरूको ठगीसम्बन्धी अनुसन्धान जारी छ। सहकारीका सञ्चालक मानबहादुर विश्वकर्माकी पत्नी जतनमाया विश्वकर्मा, गंगाबहादुर विश्वकर्माकी पत्नी सरिता कालीकोटे विक, अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल–सुनार, फूलकुमारी (फूलमाया) राई, सुदिन विक, महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई र विक्रम गजमेर पक्राउ परेका छन्। जतनमाया, सरिता र विष्णुकुमारीलाई अदालतले जनही पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। बराह सहकारीको १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकमको अपचलन र ठगीको आरोपमा २६२ प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको छ। यसमा ऋण नतिर्ने ऋणीहरूलाई पनि आरोपित गरिएका छन्। सहकारीका सञ्चालक ३५ जनाविरुद्ध संगठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ अनुरूप मुद्दा दायर गरिएको छ। अर्कोतर्फ, बाँकी २२२ जनाविरुद्ध सहकारी ऐन २०७४ अनुरूप मुद्दा दायर गरिएको छ। यस प्रकरणमा २१० जना ऋणीहरूलाई पनि प्रतिवादी बनाइएको छ। अनुसन्धानमा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ रकम हिनामिना तथा अपचलन गरिएर ठगी भएको तथ्य प्रमाणित भएको छ। ४,१६८ जना पीडितहरूले २८१ वटा जाहेरी दर्ता गराएका छन् र उक्त आधारमा अनुसन्धान अघि बढाइएको छ। प्रहरी अनुसन्धानले सबै बचत र सेयर रकम व्यक्तिगत सम्पत्ति खरिद र बराह ग्रुप अफ कम्पनीका १४ कम्पनीमा लगानी गरेको खुलेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार