बिर्तामोडमा युवा संघका इन्चार्जसहित तीन जनामाथि खुकुरी प्रहार

मंगलबार, २७ फागुन २०८१
बिर्तामोड । झापाको बिर्तामोडमा युवा संघका जिल्ला इन्चार्जसहित तीन जनामाथि खुकुरी प्रहार भएको छ। खुकुरी प्रहारबाट राष्ट्रिय युवा संघ नेपाल झापाका इन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज), विश्वदीप राजवंशी र अजय खवास घाइते भएका छन्। आङ्देम्बेको अवस्था गम्भीर रहेको छ। घाइतेहरूलाई बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। आङ्देम्बेलाई आईसीयूमा राखिएको छ भने अन्य दुई जनाको पनि उपचार जारी छ। प्रारम्भिक अनुसन्धानअनुसार घटना नियोजित रूपमा गरिएको बताइएको छ। प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–४ का खगेन्द्र खालिङले मंगलबार राति १ बजे आङ्देम्बेलाई घरमा बोलाएका थिए। घरमा छिर्न खोज्ने क्रममा ‘चेनगेट’ खोल्दै गर्दा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। यस्तै, विश्वदीप राजवंशीलाई भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्टबाट ओरालिँदै गर्दा मोटरसाइकलमा आएका चार जनाले खुकुरी प्रहार गरेका थिए। हालसम्म घटनामा कति जना संलग्न छन् भन्ने यकिन नभएको र विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका इन्स्पेक्टर सन्तोष राईले बताएका छन्। प्रहरीले घटनामा संलग्नको खोजी तीव्र पार्दै अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार