धरानमा पाँच तारे स्तरको सेवा दिने ‘होटल मेरिकेन’ सञ्चालनमा

आइतबार, ०२ कार्तिक २०८२

धरान । धरान उपमहानगरपालिका–१५ मा पाँच तारे स्तरको सेवा दिने ‘होटल मेरिकेन’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । शनिबार एक विशेष समारोहका बीच चर्चित नायक धिरज मगरले होटलको उद्घाटन गरेका हुन् ।

युरोपमा व्यवसायिक रूपमा सफल उद्यमी केन्द्र लिम्बूको लगानीमा सञ्चालनमा आएको उक्त होटलमा हालसम्म करिब २० करोड रुपैयाँभन्दा बढी लगानी भएको बताइएको छ । उद्घाटन समारोहमा सहभागी नायक मगरले होटल मेरिकेनको संरचना, सेवा र वातावरण उत्कृष्ट रहेको उल्लेख गर्दै भने, “धरानका लागि यस्तो स्तरको होटल अत्यावश्यक थियो । यो होटलले शहरको पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु गर्नेछ।”

होटल मेरिकेन प्रालिका अनुसार होटलमा जम्मा १९ वटा आधुनिक कोठा रहेका छन्, जसमा ज्याकुजिसहितका बाथरूम, साउना, स्पा र जिमजस्ता सेवा उपलब्ध छन् । पाहुनाको स्वास्थ्य र आरामलाई ध्यानमा राखी यी सबै सुविधा एउटै परिसरमा उपलब्ध गराइएको होटलका सञ्चालकहरूले बताएका छन् ।

त्यसैगरी, होटलमा आकर्षक स्विमिङ पुल, आधुनिक कार्यक्रम हल, उच्चस्तरीय बार र मनोरञ्जन क्षेत्र पनि रहेका छन् । ‘इग्नाइट रेस्टुरेन्ट’मार्फत अन्तर्राष्ट्रिय स्वाद र स्थानीय परिकारको अनौठो संयोजन प्रस्तुत गरिने बताइएको छ ।

नेपालकै पहिलो ‘स्काई बार’का रूपमा परिचित ‘११.११ बार’बाट धरान शहरको मनोरम दृश्य अवलोकन गर्न सकिने र पाहुनाले नयाँ अनुभव लिन सक्ने होटलले जनाएको छ । कोठाहरू न्यूनतम ८ हजारदेखि अधिकतम २३ हजार रुपैयाँसम्मका दरमा उपलब्ध छन्, जसअनुसार पाहुनाले आफ्ना आवश्यकताअनुसार कोठा छनोट गर्न सक्नेछन् ।

होटल मेरिकेन प्रालिका प्रतिनिधिहरूका अनुसार, “हाम्रो उद्देश्य धरानको आतिथ्य र पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउनु हो । यस होटलले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै धरानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानमा महत्वपूर्ण भूमिका खेल्नेछ,” भनिएको छ ।

WhatsApp Image 2025-10-19 at 1.19.24 PMWhatsApp Image 2025-10-19 at 1.19.23 PM

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार