विराटनगर । जंगली हात्तीको आक्रमणबाट मोरङको लेटाङमा १ जनाको मृत्यु भएको छ । लेटाङ नगरपालिका–९ बाह्रकोठेका ४२ वर्षीय मनबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लिम्बू माछा मार्न भनेर सोमबार बिहान ८ बजेतिर घरबाट निस्किएका थिए । तर, घर फर्किएनन् । अवेरसम्म घर नआएपछि आफन्त र परिवारका सदस्यले खोजी सुरु गरे । खोजतलासका क्रममा घरदेखि करिब ५ किलोमिटर दक्षिणमा सोमबार राति ९ बजेतिर शव फेला परेको हो ।
लिम्बूको खोजीमा निस्किएकाहरुले शव देखेलगत्तै प्रहरी चौकी जाँतेका असइ (प्रहरी सहायक निरीक्षक) शिवकुमार श्रेष्ठलाई जानकारी गराए । असइ श्रेष्ठले इलाका प्रहरी कार्यालय लेटाङमा खबर गरे । त्यसलगत्तै लेटाङबाट इन्स्पेक्टर राकेश रेग्मी नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।
इन्स्पेक्टर रेग्मी नेतृत्वकै टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लिम्बूको मृत्यु हात्तीको आक्रमणमा परेर भएको पत्ता लागेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले माछा मार्न भनेर घरबाट हिँडेका लिम्बूको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिए । जोशीका अनुसार घटनास्थलको प्रकृति हेर्दा हात्तीको आक्रमणबाट लिम्बूको मृत्यु भएको यकिन हुन्छ । घोप्टो परेको अवस्थामा शव भेटिएको थियो भने घटनास्थल वरपर हात्ती हिँडेको डोबहरु पनि थिए ।
भुइँ र झाडी मडारिएको अवस्थामा रहेको प्रहरीको भनाइ छ । लिम्बूलाई आक्रमण गर्ने क्रममा हात्तीले भुइँ र झाडी माडेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा शवनजिकै लिम्बूको साइकल पनि फेला परेको छ । कोदालो र झुल बाँधेको तथा लडिरहेको अवस्थामा साइकल फेला परेको जोशीले बताए । उनले घटनाको अनुसन्धान सुरु गरिएको बताए ।
प्रहरीका अनुसार लेटाङको जाँते आसपासको जंगलमा केही समययता जंगली हात्तीको चहलपहल बढेको छ । जंगली हात्तीको आवतजावत बढेकाले हात्तीलाई नचलाउन, नजिस्क्याउन तथा अवरोध पुग्ने कुनै पनि गतिविधि नगर्न र आक्रमणबाट जोगिनलाई सावधानी अपनाउन प्रहरीले सबैमा अनुरोध गरेको छ ।
प्रतिक्रिया