विराट गोल्डकपको फाइनल भोली : चर्च ब्वाइज र थ्रीस्टार आमनेसामने हुँदै

मंगलबार, २७ फागुन २०८१
विराटनगर : विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौँ संस्करणको फाइनलमा चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लबीच बुधवार प्रतिस्पर्धा हुँदै छ । दुवै टोली विराटनगरको सहिद रङ्गशालाबाट उपाधि उचालेर प्रतियोगिताको नवौँ संस्करण सुखद हिसाबले समापन भएको सन्देश दिन चाहन्छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको फाइनलमा पुगेको हो । ‘लिग लिडर’ चर्च ब्वाइज सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि १–० गोल अन्तरले हाबी हुँदै उपाधि होडमा पुग्न सफल भएको हो । पहिलो पटक उपाधि जित्ने लक्ष्यमा रहेको उसले क्वाटर फाइनलमा एनआरटीलाई २–० ले निराश बनाएको थियो । थ्रीस्टार दोस्रो पटक विराट गोल्डकपको उपाधि उचाल्ने योजनामा छ । थ्रीस्टार पनि सेमिफाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ गोल अन्तरले पाखा लगाउँदै उपाधिनजिक पुगेको टिम हो । थ्रीस्टारले क्वाटर फाइनलमा मच्छिन्द्र क्लबलाई २–१ गोल अन्तरले स्तब्ध बनाएको थियो । गोल्डकपको फाइनल खेल बुधवार साँझ ६ः३० बजेपछि सुरु हुने आयोजकले जनाएको छ । सहिद रंगशालमा मङ्गलवार भएको ‘प्री–म्याच कन्फ्रेन्स’मा दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नकै लागि खेल्ने बताए । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले विराट गोल्डकपमा पहिलो पटक फाइनलमा पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको उल्लेख गरे । ‘यो सिजनमा हामीले मोफसलमा भएको ३ वटा गोल्डकपको उपाधि जितेका छौँ । विराट गोल्डकपको फाइनलमा पुगेका छौँ । उपाधि उचालेर इतिहास रच्ने हाम्रो लक्ष्य छ । विराट गोल्डकपसहित सिजनमा ४ वटाको उपाधि भित्राउन चाहन्छौँ । जसरी पनि जित्ने गरी खेल्छौँ,’ प्रशिक्षक श्रेष्ठले भने । थ्रीस्टारका प्रशिक्षक गणेश खड्काले मोफसलमा हुने प्रतिष्ठित विराट गोल्डकपको उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गरिने बताए । फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा २ विदेशीसहित १० टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरस्कारबापत विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पाउने छन् । सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार तथा उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई १५-१५ हजार रुपैयाँ दिइने छ । दैनिक भएको खेलमा उत्कृष्ट खेलाडीले नगद ११ हजार पाएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार