इटहरी : आउँदै आएको फागु पूर्णिमा (होली) पर्वलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुरोध गरेको छ।
बुधबार सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सार्वजनिक सूचना जारी गर्दै कसैको इच्छा विपरीत जबरजस्ती रङ्ग नलगाउन, नमेटिने रङ्गको प्रयोग नगर्न तथा सार्वजनिक स्थानमा अमर्यादित गतिविधि नगर्न आग्रह गरेका छन् ।
सूचनामा होलीको नाममा जथाभाबी लोला हान्ने, हिलो छ्याप्ने, बोतलका टुक्रा प्रयोग गर्ने, सार्वजनिक यातायातमा अवरोध पुर्याउने र समाजमा अशान्ति फैलाउने कार्य नगर्न अनुरोध गरिएको छ।
यस्ता गतिविधिले सामाजिक सद्भावमा असर पार्न सक्ने भएकाले नागरिकहरूलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ।
साथै, नियम उल्लङ्घन गर्ने जोसुकैलाई कानुनी कारबाही गर्ने चेतावनी पनि दिइएको छ। शान्ति सुरक्षाको लागि सुरक्षा निकायलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिइसकेको जानकारीमा समेत उल्लेख गरिएको छ।
हेर्नुहोस् सुचना
प्रतिक्रिया