विराटनगर : लागुऔषधसहित विराटनगरबाट दुई जना पक्राउ परेका छन् । पक्राउ परेका दुवै जना उदयपुरका हुन् ।
प्रहरीका अनुसार उदयपुरको चौदण्डीगढी गाउँपालिका–६ का २७ वर्षीय पेशल बस्नेत र २३ वर्षीय गगन खतिवडालाई पक्राउ गरिएको हो ।
लागुऔषध बोकेर भारतको जोगवनीबाट नेपाल प्रवेश गरेका उनीहरुलाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्र १–०४–००२ प १०२७ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये बस्नेत मोटरसाइकल चालक हुन् ।
उनको साथबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)जस्तो देखिने वस्तु १.४८ ग्राम र मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको नाइट्राभेट–१० लेखिको १५ ट्याब्लेट बरामद भएको छ ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । बस्नेत र खतिवडाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने प्रहरीले उल्लेख गरेको छ ।
प्रतिक्रिया