इटहरी । इटहरी उपमहानगरपालिका–६ हटियालाइन नजिक टेङ्ग्रा खोलाको पानीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
हिजो (शनिबार) राति करिब ८ः२५ बजे स्थानीयले खोलाको २ फिट गहिरो पानीमा एक व्यक्ति घोप्टो अवस्थामा रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय इटहरीबाट डीएसपी लक्ष्मी भण्डारीको नेतृत्वमा अनुसन्धान टोली सहित घटनास्थलमा पुगेको थियो।
मृतकको अन्दाजी उमेर ४० देखि ४५ वर्षको रहेको बताइएको छ तर उनको नाम, थर र वतन अहिलेसम्म खुलेको छैन।
घटनास्थल इलाका प्रहरी कार्यालय इटहरीबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ। प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी राति १० बजे शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान खुलाउने प्रयास भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया