मोरङको बेलबारीबाट होटेलमा तास खेलिरहेका ८ जना पक्राउ

आइतबार, १७ चैत्र २०८१
विराटनगर । एउटा होटेलमा तास खेलिरहेका ८ जनालाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ । बेलबारी नगरपालिका–१० भाउन्नेमा सन्तोष याक्खाले सञ्चालन गरेको प्रशान्त होटेलबाट उनीहरूलाई शनिवार साँझ ६ः४० बजेतिर पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । तास खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले होटेलमा छापा हानेको थियो । प्रहरीले छापा हानेर तास खेलिरहेका बेलबारी–१० का ४७ वर्षीय विष्णुकुमार दर्जी, ४० वर्षीय कमल डोटेल, ४५ वर्षीय बद्री विष्ट, ३५ वर्षीय सुमन भण्डारी, ५३ वर्षीय पदमबहादुर भण्डारी, ५८ वर्षीय दिलबहादुर तामाङ, ३९ वर्षीय लिलम लिम्बू र ४५ वर्षीय विश्वकुमार याक्खालाई पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट १ लाख ५ हजार ८० रुपैयाँ नगद र ८ बुक तास बरामद गरिएको जानकारी एसपी चिमरियाले दिए । प्रहरीले छापा हान्नसाथ होटल सञ्चालक सन्तोष याक्खा फरार भएका छन् । फरार रहेका याक्खाको खोजी भइरहेको चिमरियाले बताए । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । एसपी चिमरियाका अनुसार कानुनी कारबाहीका लागि पक्राउ परेका विरुद्ध म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने छ । यस विषयमा इन्स्पेक्टर खत्री नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार