विराटनगर : मोरङको रतुवामाई नगरपालिका–५ का वडा अध्यक्षले सम्पत्ति बाँडफाँट प्रयोजनका लागि किर्ते गरेर नाता प्रमाणित गरिदिएको फेला परेको छ ।
वडाध्यक्ष सोमनाथ कार्कीले पारिवारिक सम्पत्ति बाँडफाँटका क्रममा किर्ते गरेर नाता प्रमाणित गरिदिएको रहस्य बाहिर आएको हो । स्वः रुस्तम अली मियाँका ३ जना छोरा थिए । तर, २ जना छोरा मात्रै भनेर नाता प्रमाणित दिएको भेटियो ।
सम्पत्ति बाँडफाँट गर्दा एउटा छोराका सन्तानलाई छुटाएर २ छोराको परिवारले मात्रै सम्पत्ति उपभोग गर्न पाउने गरी नाता प्रमाणित गरिदिएको पाइएको छ ।
रतुवामाई– ५ गोविन्दपुरका मियाँले मोहीबापत मनमाया मैनालीबाट ४ बिघा जग्गा पाएका थिए । उनका ३ छोरा हुन् । मियाँसहित २ छोराको मृत्यु भइसकेको छ ।
वडाध्यक्ष कार्कीले रुस्तमका २ छोरा मुहम्मद नवाब उदिन मियाँ र स्वः इरफान अली मियाँ मात्रै रहेको भनेर २०८० पुस २४ गते नाता प्रमाणित गरिदिएको फेला परेको छ ।
सोही नाता प्रमाणितका आधारमा रुस्तमका २ सन्तानले मात्रै मोहियानी हकबापतको जग्गा पाएका छन् । वडाध्यक्षले २ जनालाई मात्रै छोरा करार गर्दा रुस्तमका जेठा छोरा स्वः नाजीमुदिन मियाँको परिवारले अंश नै पाएन ।
नाजीमुदिनका नाति मोहम्मद अलन्जिरका अनुसार वडाध्यक्षको मिलेमतोमा उनको पुस्तालाई नै अंशबाट वञ्चित गरिएको छ । नाजीमुदिनको मृत्यु २०७६ असार २७ गते भएको थियो । नाजीमुदिनका सन्तानलाई अंशबाट वञ्चित गर्ने गरी वडाले कागजात दिएको नाति अलन्जिरले बताए ।
‘वडा कार्यालयले कसरी सर्जमिन गरेर नाता प्रमाणित गर्यो थाहा भएन । हाम्रो परिवारलाई नै अलग बनाइदियो । वडाले मिलेमतोमा गर्योजस्तो लाग्छ,’ अलन्जिरले भने । उनका अनुसार वडाध्यक्ष कार्कीलाई रुस्तम अलीका ३ छोरा भएको जानकारी थियो ।
तर, उनले २ छोरा मात्रै भएको प्रमाणपत्र दिए । जसका कारण परिवार समस्यामा परेको अलन्जिरले बताए । मोहीबापत पाएको जग्गा महँगोमध्येमा पर्छ । वडाध्यक्षका कारण एउटा छोराको परिवार सम्पत्तिको हकबाट अलग भएपछि न्यायका लागि त्यो परिवार धाइरहेको छ ।
गोविन्दपुरकी मनमाया मैनालीको नाममा रहेको ९ बिघा ४ कट्ठा जग्गामा रुस्तम अली मियाँको मोहियानी हक थियो । मृत्युपछि उनले ४ बिघा ४ कट्ठा १८ धुर मोहियानी जग्गा पाए ।
मोहियानी लगत अनुसार वडा कार्यालयले पत्र पठाएपछि भूमि सुधार तथा मालपोत कार्यालय विराटनगरले गत वर्ष फागुन रुस्तमको भागमा परेको जग्गा उनका २ छोराको नाममा कित्ताकाट गरिदिएको थियो ।
रतुवामाई– ५ का वडाध्यक्ष कार्की नाता प्रमाणित गर्दा कमजोरी भएको बताउँछन् । सरजमिनका लागि जाँदा एउटा छोराको परिवार जीवित नरहेको भन्दै २ छोराको परिवारले ढाँटेको उनले बताए ।
‘सरजमिनका लागि जाँदा उनीहरूले ढाँटे । आफन्त छैनन्, मरेर गइसके भनेपछि २ जना छोरा रहेको नाता प्रमाणित भयो । अर्को पक्ष आएपछि मैले कानुनी रूपमा जानु भन्ने सल्लाह दिएको छु,’ वडाध्यक्ष कार्कीले भने ।
वडा कार्यालयबाट सर्जमिन गर्दा कमजोरी भएको बताउँदै उनले भने, ‘उहाँहरू कानुनी प्रक्रियामा जानु भयो भने सहयोग गर्छु ।’ अंश पाउने परिवार र अंश पाउन छुटेको परिवारबिच गत वर्ष विवाद भएपछि सरजमिनमा नाम छुटेको विषय बाहिर आएको वडाध्यक्ष कार्कीले बताए र्।
प्रतिक्रिया