कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ की १८ वर्षीया एक नेपाली किशोरी भारतको बङ्गलोरमा बन्धक बनाएर निर्घात कुटपिटमा परेकी छन् ।
पीडित परिवारका अनुसार दुई वर्षअघि पढ्न भारत गएकी ती किशोरीमाथि गैरकानुनी विवाह, घरेलु हिंसा र यातना भएको खुलासा भएको छ ।
किशोरीलाई उनका मामा गणेश विष्टले पढाउन भनी भारतको बङ्गलोर लगेका थिए । तर, केही समयपछि आमाको निधन भएपछि परिवारसँग सम्पर्क टुटेको थियो ।
परिवारका अनुसार गणेश विष्टका भाइ नरेशले ती किशोरीसँग विवाह गरेका थिए र विवाहपछिको समयदेखि उनीमाथि निरन्तर कुटपिट तथा नियन्त्रणमा राखिएको थियो ।
किशोरीका काका पनि बङ्गलोरमै कार्यरत छन् । केही महिनाअघि पीडित किशोरीले उनलाई फोन गरेर नरेशले बारम्बार कुटपिट गर्ने र बाहिर जानसमेत नदिने गरेको गुनासो गरेकी थिइन् ।
गत आइतबार मामा गणेश विष्ट ती किशोरीलाई अचेत अवस्थामा लिएर नेपाल फर्किएका थिए । हाल उनको झलारीस्थित एक स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय झलारीले किशोरीलाई लिएर आएका गणेश विष्टलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानमा गणेशले आफ्ना भाइ नरेशले किशोरीलाई कुटपिट गरेर हत्या गर्न खोजेपछि आफूले नेपाल ल्याएको बताएका छन् ।
त्यहाँका प्रहरी निरीक्षक राजेश बस्नेतले थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।
प्रतिक्रिया