झापा: झापाको कनकाई नगरपालिकाले नगरलाई बालमैत्री नगर घोषणा गर्ने भएको छ । आज नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै आज बालमैत्री नगर घोषणा गर्ने जनाएको हो ।
नगरको १२ औं स्थापना दिवसको अवसर पारेर बिहीवार बालमैत्री नगर घोषणाको तयारी गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । सरकारले गरेको ५१ सूचकमा दुई वटा स्थानीय सूचक थप गरी ५३ वटा सूचक पूरा गरेर नगरलाई बालमैत्री नगर घोषणाको तयारी गरिएको नगर प्रमुख पोखरेलले बताएका छन् ।
झापाको तेस्रो र कोशी प्रदेशको पाँचौ बालमैत्री नगरको रुपमा कनकाई नगर बालमैत्री नगर घोषणा गर्न लागिएको नगरका बालकल्याण अधिकारी उमानाथ ढकालले बताए ।
बालबिवाह, लागूऔषध नियन्त्रण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा बालबालिकाका लागि कार्ययोजना बनाएर काम गरिने नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताएका छन् ।
यसअघि कनकाईले नगरमा सुर्तिजन्य पदार्थ सेवन र बिक्रीबितरण प्रतिबन्ध, बन्द निषेधित क्षेत्र घोषणा गरिससकेको छ । आज बालमैत्री नगर घोषणा कार्यक्रमको उद्घाटन कोशी प्रदेशका खानेपानी तथा सिंचाई मन्त्री एकराज कार्कीले गर्ने बालकल्याण अधिकारी ढकालले जानकारी दिए ।
उनका अनुसार लिम्बु, किरात, सन्थाल, बाल सञ्जाल, नौमतीबाजा, स्काउटको सहभागीतामा भृकृटी मावि दुर्गापुरबाट भित्री सडक हुँदै नगरसम्म र्याली गरिनेछ ।
बालसन्जाल कनकाई नगर अध्यक्ष बिजय तिवारीले बालबालिकाको क्षेत्रमा आफुहरु नगरसँग समन्वय गरेर काम गरिरहेको बताउँदै आगामी दिनमा पनि त्यस कार्यलाई निरन्तरता दिने बताएका छन् ।
कार्यपालिकाबाट बालमैत्री स्थानीय शासन कार्यन्वयन गर्ने निर्णय २०७९ माघ १८ गते भएको नगरले जनाएको छ । ४ बर्षको अन्तरालमा पूर्ण रुपमा बालमैत्री नगर घोषणा गर्ने कार्य सम्पन्न भएको हो ।
प्रतिक्रिया