सबै राजावादीहरू आज एकै ठाउँमा भेला हुँदै, नयाँ आन्दोलनको घोषणा गरिने

विहीबार, २५ बैशाख २०८२
फाइल तस्बिर

काठमाडौँ : नवराज सुबेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको निमित्त गठित जनआन्दोलन समिति पछिल्लो समय सक्रिय देखिएको छ ।

समितिको आयोजनामा बिहीबार अर्थात् वैशाख २५ गते सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको जनाइएको छ ।

घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर विष्ट, नेपाली काङ्ग्रेस (बिपी)का सुनिलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत राजावादी हिन्दुवादी सङ्घ, संस्था र अभियानको सहभागिता रहने बुझिएको छ ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले नवराज सुबेदीको नेतृत्वमा रहेको जनआन्दोलन समितिले भोलि आन्दोलनको घोषणा गर्ने र सो कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाको उपस्थिति हुने पुष्टि गरेका छन् ।

उनले भने, 'कार्यक्रममा पार्टी अध्यक्ष थापा सहभागी हुनुहुन्छ, भ्रष्ट व्यवस्था र शासकबाट मुक्तिको लागि आन्दोलन अपरिहार्य छ, आन्दोलन शान्तिपूर्ण हुनेछ'  । 

कार्यक्रममा विभिन्न ५० भन्दा बढी सङ्घ संस्थाहरूले अब हुने आन्दोलनमा समर्थन जनाउँदै प्रतिबद्धता व्यक्त गर्ने तयारी रहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार