धरान । धरान उपमहानगरपालिकाको कृषि उपज बजारमा फेला परेको अत्यधिक विषादीका कारण दैनिक विषादी परीक्षणमा कडाइ गरिएको छ।
गत मंगलबार धरान–१३ स्थित कृषि बजारमा सञ्चालित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईले परीक्षण गर्दा मकवानपुरको पालुङबाट आएको २ हजार ४१२ केजी फुलकोपीमा ९७.४ प्रतिशतभन्दा बढी विषादी भेटिएपछि तुरुन्तै नष्ट गरिएको थियो।
धरान कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार उक्त बजारमा दैनिक ५० टनभन्दा बढी हरियो सागसब्जी र फलफूल आयात हुन्छ भने १०० टनभन्दा बढी कारोबार हुने गर्दछ। उनले गत पुस महिनादेखि नियमित परीक्षण हुँदै आएकोमा पहिलो पटक यति धेरै विषादीयुक्त तरकारी भेटिएको बताए। विषादीको उच्च मात्रामा फेला परेपछि अबदेखि हरियो तरकारी मात्रै नभई फलफूलको समेत दैनिक विषादी परीक्षण थालिएको भट्टराईले जानकारी दिए।
प्रचलित मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम विषादी भए उपभोग गर्न मिल्ने, ३५ देखि ४५ प्रतिशतसम्मको परीक्षण पुनः गर्दा सुरक्षित देखिए उपभोग योग्य हुने तर ४५ प्रतिशतभन्दा बढी विषादी भेटिएमा तुरुन्तै नष्ट गर्नु पर्ने प्रावधान रहेको बताइएको छ। हाल धरान कृषि बजारमा कार्बामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादी मात्र परीक्षण गरिन्छ।
बजारमा फलफूलको आपूर्ति मुख्यतया भारत र चीनबाट हुने गरेको छ भने खरबुजा नेपालबाटै आउने गरेको छ। हरियो तरकारी भने पूर्वी पहाड, तराई, मकवानपुर, धादिङ, काभ्रे र भारतबाट आउने गर्दछ।
धरान उपमहानगरपालिकाका उपप्रमुख इन्द्र विक्रम बेघाले विषादीले मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकोले अबदेखि विषादी परीक्षण नगरी तरकारी र फलफूल बेच्न नपाइने स्पष्ट पारे। उनले भने, “हामीले निरन्तर परीक्षण गर्दैछौं, मानव स्वास्थ्यलाई असर गर्ने गरी लापरबाही गर्न पाउँदैनौं। अबदेखि विषादी परीक्षण नगरी कृषि बजारमा कुनै पनि तरकारी वा फलफूल विक्री गर्न कडाईका साथ रोक लगाइएको छ।”
प्रतिक्रिया