इलाम । इलाम नगरपालिकाले विभिन्न वडामा सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट पाँच सयभन्दा बढी नगरवासीले सेवा प्राप्त गरेका छन्।
नगरपालिकाले वडा नम्बर ४ को मलाते, वडा नम्बर १० को गोदक र वडा नम्बर ११ को सोयाकमा तीन दिनसम्म शिविर सञ्चालन गरी नगरवासीलाई स्वास्थ्य, कृषि, पशु सेवा लगायतका सेवा प्रदान गरेको हो। इलाम नगरपालिका ४ का वडाध्यक्ष तथा नगर प्रवक्ता नुतनदेव दुलालका अनुसार, शिविरमा १ सय ८० जना किसानलाई जैविक विषादी वितरण गरिएको छ भने ३९ जना किसानको माटो परीक्षण गरिएको छ।
स्वास्थ्य सेवातर्फ ५ सय नगरवासीको स्वास्थ्य परीक्षण गरिएको छ। पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएका ९२ जनामध्ये १६ जनामा क्यान्सर पोजेटिभ देखिएको जनाइएको छ। गर्भवती महिलाको भिडियो एक्सरे सेवा १४ जनालाई प्रदान गरिएको छ।
पशु स्वास्थ्य सेवामा १ हजार १ सय २० वटा गाई, गोरु, भैँसी, राँगा, सुँगुर, खसी र कुखुरालाई जुका, नाम्ले, उपियाँ, उडुस र जुम्राको नियन्त्रणका लागि औषधि वितरण गरिएको छ। ९ वटा सामुदायिक कुकुरलाई रेबिजको खोप लगाइएको छ भने १ जना कृषकको गाईको गोबर परीक्षण गरिएको छ।
सामुदायिक सेवामा २ सय ५० जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण गरी आयुर्वेदिक औषधि वितरण गरिएको छ। वैदेशिक रोजगारमा जाने २ सय १५ जना परिवारलाई रोजगारीसम्बन्धी परामर्श दिइएको छ। ११ जना महिला तथा बालबालिका अपाङ्गता भएका व्यक्तिलाई परामर्शसहित रातो, निलो र पहेँलो कार्ड प्रदान गरिएको छ।
नगरप्रमुख केदार थापाले किसानहरू बर्खाको तयारीमा खेतबारीमा व्यस्त हुने भएकाले गाउँमै पुगेर सेवा प्रदान गरिएको बताए। प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्का, वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा नम्बर ११ का वडाध्यक्ष काशी जबेगु लगायतका जनप्रतिनिधि, चिकित्सक तथा स्थानीयवासीहरूको सहभागितामा शिविर सम्पन्न भएको थियो।
प्रतिक्रिया