महेन्द्र बेँसीलाई धार्मिक पर्यटकीयस्थल बनाउन जुटे स्थानीय

बुधबार, ३१ बैशाख २०८२

इलाम : इलामको सूर्योदय नगरपालिका अन्तर्गत महेन्द्रबेंसीलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न स्थानीय बासिन्दाहरू जुटेका छन्। वडा ४, ५ र ६ को संगमस्थल रहेको महेन्द्रबेंसीमा धार्मिक र प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सामूहिक प्रयास अघि बढाइएको हो।

सिद्धिखोला, कन्याम र अन्तुखोलाको त्रिवेणी रहेको यो क्षेत्र हिन्दू, बौद्ध र किरातलगायत विभिन्न धर्मावलम्बीहरूको लागि पवित्र मानिन्छ। स्थानीयले यस क्षेत्रलाई धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलका रूपमा विकसित गर्न बहुसांस्कृतिक पूजापाठ तथा औपचारिक कार्यक्रमहरू आयोजना गर्न थालेका छन्। मंगलबार सम्पन्न भएको विशेष कार्यक्रममा हिन्दू, बौद्ध, किरात र प्रेमवाद धर्मावलम्बीहरूले एकसाथ पूजा, प्रार्थना र ध्यान गरेका थिए।

‘धार्मिक, ऐतिहासिक भूमिलाई चिनाउने अभियान, सबै धर्मको सम्मान’ नारासहित महेन्द्रबेंसी दुर्गाघाट सर्वधर्म त्रिवेणी धाम समितिले आयोजना गरेको यस कार्यक्रममा वडा ४ का अध्यक्ष शरण राई, वडा ५ का अध्यक्ष उर्गेन बम्जन र वडा ६ का अध्यक्ष शिव बस्नेतसहित स्थानीय अगुवा, समाजसेवी र पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

वडाध्यक्षहरूले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सामूहिक प्रतिबद्धता जनाएका छन्। उनीहरूले त्रिवेणीमा पक्की पुल, सडक स्तरोन्नति, पार्क, धारो र चर्पीजस्ता पूर्वाधार निर्माणका लागि आउने आर्थिक वर्षदेखि नै योजना बनाइ कार्यान्वयन थाल्ने बताएका छन्।

स्थानीय अगुवा चक्रपाणि घिमिरेले २०१८ सालमा यहाँ सप्ताह ज्ञानमहायज्ञ र २०२२ सालमा पुराणसमेत आयोजना गरिएको स्मरण गरे। उनका अनुसार, अघिल्लो पुस्तामा नाम चलेका धार्मिक गुरुहरू यस त्रिवेणीमा स्नान र पूजा गर्न आउने गरेका थिए।

यसैगरी, वडा ६ का यामबहादुर राईले विशेषगरी हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरूले यो स्थानलाई पवित्र स्थलका रूपमा मानेर पूजापाठ गर्ने परम्परा रहेको बताए। स्थानीय लामा तिलविक्रम राईले पनि महेन्द्रबेंसीलाई बहुधार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने ठूलो सम्भावना रहेको औंल्याए।

यस क्रममा स्थानीय कृष्ण घिमिरेले त्रिवेणीमा पुल नहुँदा बर्खाको समयमा आवतजावतमा हुने कठिनाइको उल्लेख गरे। उनले वर्षायाममा खोलाको दुई किनारमा रहेका गाउँबीच सम्पर्क टुट्ने समस्या रहेको भन्दै स्थायी पुल निर्माणको माग गरे।

कार्यक्रममा धार्मिक पर्यटकीयस्थलको विकासका लागि जग्गा दान गर्ने तीन स्थानीयलाई सम्मान गरिएको थियो। सूर्योदय क्षेत्रलाई पर्यटकिय नगरको रूपमा स्थापित गर्ने अभियानलाई थप गति दिन स्थानीयबासीहरू एकजुट भएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार