काठमाडौँ । नेपाली कांग्रेसका पूर्व मन्त्री एवं हालका सांसद मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको छ ।
उनीसहित १५ नेपाली, एक विदेशी र दुई कम्पनीविरुद्ध टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा तीन अर्ब बढी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मुद्दा दायर हुनासाथ सांसद बस्नेतको पद स्वतः निलम्बनमा परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध स्वतः निलम्बन हुने व्यवस्था रहेको छ ।
दायर गरिएको मुद्दामा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो दाबी गरिएको छ । टेरामक्स खरिद प्रक्रियामा उनीहरुले भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
मुद्दा लागेकाहरुमा कांग्रेस सांसद बस्नेत, तत्कालीन दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, प्राधिकरणका तत्कालनि सदस्यहरु धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवतीराम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्यप्रसाद वस्ताकोटी र उपनिर्देशक अच्युदानन्द मिश्र रहेका छन् ।
त्यस्तै प्राधिकरणका निर्देशक सुरेशलाल हाडा, निर्देशक दिपेश आचार्य र उपनिर्देशक सन्दिपि अधिकारी रहेका छन् । साथै परामर्शदाता भ्यानराइज सोलुसन्स एएएल (अफशोर) र सोका मुख्य व्यक्ति सीईओ जमान अनौटी र भ्यानराइज सोलुसन्स एएएल (अफशोर) को लोकल एजेन्ट भनिएको कनेक्सन ट्रेड लिंक प्रालि काठमाडौँ नेपाल र सोका अध्यक्ष दिलिपकुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेल रहेका छन् ।
प्रतिक्रिया