नेपालमा एकल परिवार बढ्दो, संयुक्त परिवार घट्दो अवस्थामा

विहीबार, ०१ जेठ २०८२

काठमाडौं : परिवार भन्ने वित्तिकै सुख–दुःख साथ दिने व्यक्तिहरुको समूह भन्ने बुझिन्छ । तर नेपालमा क्रमशः बढ्दो आधुनिकता अनि विकासक्रमसँगै पारिवारिक मूल्य, मान्यता र अवधारणाहरु घट्दै गएका छन् । 

अहिले परिवारका मुल व्यक्तिहरु जिविकोपार्जनका लागि विदेश जानेक्रम बढेपछि परिवार र सामाजिक भावनामा नकारात्मक असर पर्न थालेको छ । पारिवारिक मूल्य, अपनत्व, सदभावना, एकता अनि समानतामा कमी देखिएको छ । 
यसै सन्दर्भमा राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एंव प्रवक्ता ढुण्डीराज लामिछानेले परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिकीय प्रक्रियाहरूको ज्ञान बढाउन अन्तर्राष्ट्रिय परिवार दिवस मनाउने गरेको प्रष्ट पारे । 

उनले भने, ‘परिवार भन्ने विषय समाज र देशको लागि निकै महत्वपूर्ण हुन्छ र परिवारलाई अर्थतन्त्रसँग पनि जोड्न सकिन्छ । हाम्रो संस्कृतिदेखि अर्थतन्त्रसम्म जोडिएको विषय भनेको परिवार हो । समाज कस्तो निर्माण गर्ने भनेर पनि परिवारबाट नै निर्धारण हुन्छ ।’

उनले विकासका क्रममा स्वतन्त्रताको खोजी गर्दै एकल परिवारको परिवेश बन्दै गएको बताए । उनले अहिले एकल परिवार ५०–६० प्रतिशत रहेको र संयुक्त परिवार ४०–४५ प्रतिशतको हाराहारीमा मात्र रहेको बताए ।

उनले भने, ‘युवा पुस्ताहरु विदेश जाने प्रवृत्तिले पनि संयुक्त परिवारको अवधारणा घट्दै गइरहेको अवस्था छ । यसको साथै, विकास हुने क्रममा स्वतन्त्रताको खोजी गर्दै पनि एकल परिवारको परिवेश बन्दै गएको हो । आन्तरिक बसाइसराइले पनि यसमा प्रभाव पार्ने गरेको देखिन्छ । अहिले एकल परिवार ५०, ६० प्रतिशतमा छन् भने संयुक्त परिवार ४०, ४५ प्रतिशतको हाराहारीमा रहेको छ ।’

परिवारलाई हिमाल, पहाड र तराई जस्ता विविधताका कारणपनि असर पर्ने भन्दै तराइका भेगहरुमा भने केही मात्रामा अझैपनि संयुक्त परिवार रहेको र पहाडमा भने कम नै रहेको उनको भनाइ छ । उनका अनुसार तराइमा बसोबास गर्ने मानिसहरु एक मत, एक भेद भएर बसेका छन्  । 

यस्तै, तराइमा दलित, मधेशी र मुस्लिमको धेरै परिवार रहेको भन्दै बाहुन, क्षेत्री र नेवारहरुको परिवारको संख्य अलि कम रहेको पनि उनले जानकारी दिए । 

‘यस्तो परिस्थिति बन्दै गएकाले परिवारको सुधार गर्नुपर्ने, जनसंख्या नीतिहरुमा सुधार गर्नुपर्ने र परिवारको विभाजन हुने क्रम बढ्दै गएकाले त्यसलाई रोक्नुपर्ने अवस्था छ । त्यसैले भएका नीति सहि तरिकाले कार्यान्वयन हुन नसक्नु दुर्भाग्यपूर्ण छ,’ उनले भने । 

उनका अनुसार विकासले नयाँ कुराहरु सिकाउदै जाने र पूराना कुराहरु छुटाउँदै लैजाने काम गर्छ तर कतिपय देशहरुले भने पूराना कुराहरु समेटेर विकासतर्फ पनि लैजाने गरेको पाइन्छ । विकासको क्रम सँगसँगै संस्कृतिलाई पनि समेटेर लैजाने हो भने समाज उत्कृष्ट समाज बन्नसक्ने उनको बुझाइ छ । 

उनले धर्म संस्कृतिलाई अझै बढी प्रयोग गर्ने र एक अर्काको धर्म संस्कृतिलाई जोगाएर लैजाने हो भने पछिल्ल्लो पुस्ताले पनि धर्म संस्कृतिलाई स्वीकारेर अगाडि बढ्न सक्ने बताए । 

एक अर्काको भाषा संस्कृतिलाई बुझ्ने कोशिस गर्ने हो भने देशको अर्थतन्त्रमा समेत सुधार हुने भन्दै दिगो विकासका लक्ष्य सुधारका निम्ती परिवारको संरचना परिवार भित्रको अनुशासनले पनि सहयोग गर्ने उनको बुझाइ छ । 

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार