इस्तानबुल : युक्रेन र रुसबीच चलिरहेको युद्ध अन्त्यको प्रयासस्वरूप टर्कीको इस्तानबुलमा शुक्रबार उच्चस्तरीय वार्ता सम्पन्न भयो। बैठकपछि युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले दुवै देशले एक–एक हजार युद्धबन्दीहरू रिहा गर्ने सहमति गरेको जानकारी दिए। उनका अनुसार बैठकमा युद्धविराम र मानविय विषयमा गम्भीर छलफल भएको थियो।
रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरेका भ्लादिमिर मेन्डिन्स्कीले पनि कैदी आदानप्रदानसम्बन्धी सहमतिलाई पुष्टि गर्दै युक्रेनी पक्षले राष्ट्रपति पुटिन र राष्ट्रपति जेलेन्स्कीबीच प्रत्यक्ष वार्ताको अनुरोध गरेको बताए।
उनले दुवै पक्षले भविष्यको सम्भावित युद्धविरामबारे आफ्ना दृष्टिकोण प्रस्तुत गर्ने सहमति पनि जनाए। यद्यपि, युद्धबन्दीहरू कहिले रिहा हुने भन्ने मिति भने सार्वजनिक गरिएको छैन।
बैठकपछिको सन्देशमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि दबाब कायम राख्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “रुसले युद्ध अन्त्यको स्पष्ट इच्छा देखाउनु नपुन्जेल उसमाथि अन्तर्राष्ट्रिय दबाब आवश्यक छ। युक्रेन यथासम्भव चाँडो वास्तविक शान्तिको दिशामा अघि बढ्न तयार छ।”
प्रतिक्रिया