चट्याङको सिजन : सतर्क नहुने हो भने प्राणघातक बन्न सक्छ

शनिबार, ०३ जेठ २०८२

काठमाडौं : नेपालमा चट्याङको मुख्य सिजन सुरु भइसकेको छ। अप्रिलदेखि सेप्टेम्बरसम्म चल्ने प्रि-मनसुन र मनसुन अवधिमा विशेषगरी वैशाखदेखि साउनसम्म चट्याङको जोखिम उच्च हुन्छ। पछिल्लो समय देशभर चट्याङ लागेर जनधनको क्षति हुने घटना बढिरहेका छन्।

शनिबार बिहान सप्तरीमा चट्याङ लागेर एक सात वर्षीया बालिकाको ज्यान गएको छ भने अर्का सात वर्षीय बालक घाइते भएका छन्। यस्तो घटनाले चट्याङको गम्भीरताबारे पुनः सोच्न बाध्य बनाएको छ।

प्राध्यापक रामचन्द्र अधिकारीका अनुसार, चट्याङ बादलभित्रको ‘इलेक्ट्रिक चार्ज’ हो, जुन विपरीत दिशाका बादल जुध्दा उत्पन्न हुन्छ। त्यसबाट १२ करोड ५० लाख भोल्टसम्मको करेन्ट र ३० हजार डिग्री सेन्टिग्रेड तापक्रम निस्कन्छ, जुन सूर्यको सतहको तापक्रमभन्दा पनि बढी हुन्छ। ‘कुमोलो निम्बस’ नामक बादलबाट उत्पन्न भएको चट्याङ जमिनसम्म पुग्दा ठूलो मानवीय तथा भौतिक क्षति गर्छ।

चट्याङ सामान्यतः दिउँसो वा साँझपख बढी पर्छ। त्यसबेला खेतमा काम गर्ने, गाईभैंसी चराउने, वा खुला ठाउँमा हिँडिरहेका मानिस बढी प्रभावित हुने गरेका छन्। साथै, अग्ला रूख र टावर चट्याङका मुख्य निशाना हुने गर्छन्।

यसबाट जोगिन सावधानी नै मुख्य उपाय हो। घरमा ‘अर्थिङ’ प्रणाली जडान गर्नु, सर्किट लिक भए–नभएको समय–समयमा जाँच गर्नु आवश्यक छ। बिजुली चम्केका बेला घरभित्रै बस्नुपर्छ, ठूला रूखको फेदमा बस्न वा इलेक्ट्रिक यन्त्र प्रयोग गर्न हुँदैन।

विशेषगरी, चट्याङको सिजनमा सुरक्षित रहन सचेतना र सावधानी आवश्यक छ। चट्याङको चेतावनीलाई बेवास्ता गरेमा यसले ज्यानै लिने खतरा रहन्छ।

प्रतिक्रिया

NEWS KARKHANA
लेखकको बारेमा
NEWS KARKHANA
NEWS AGENCY

समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार