झापा लागूऔषध कारोबारको ‘हब’ बन्दै,-हिरासत कक्ष भरिए

सिमसार क्षेत्रबाट एकै दिन ४३ जना पक्राउ

बुधबार, १४ जेठ २०८२

सुरेन्द्र भण्डारी

झापा : झापामा लागू औषधसम्बन्धी अपराधको दर तीव्र रूपमा बढेसँगै जिल्ला र इलाका प्रहरी कार्यालयका हिरासत कक्षहरू भरिएका छन्। जिल्ला प्रहरी कार्यालय झापा तथा काँकडभिट्टा, दमक, अनारमनी लगायतका ‘क’ श्रेणीका प्रहरी इकाइमा अधिकांश थुनुवा लागू औषध कारोबार र सेवनसँग सम्बन्धित छन्।

इलाका प्रहरी कार्यालय काँकडभिट्टामा हाल ४० जना थुनुवा छन्, जसमध्ये ३५ जना लागू औषधसम्बन्धी मुद्दामा छन्। यस्तै, दमकमा २३ थुनुवामध्ये १४ जना, अनारमनीमा ३५ मध्ये २२ जना र जिल्ला प्रहरी कार्यालय झापामा ४२ मध्ये २२ जना लागू औषध सम्बन्धी अभियोगमा थुनामा रहेका छन्। प्रहरीका अनुसार दैनिक रूपमा लागू औषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परिरहेका छन्।

झापालाई लागू औषधको ‘हब’ बन्दै गएको बताउँदै प्रहरी प्रमुख राजन लिम्बूले नियन्त्रणका लागि विशेष ‘एक्सन’ लिइएको जनाए। पछिल्लो तथ्याङ्कअनुसार २४ विदेशीसहित ४११ जना लागू औषध अभियोगमा प्रहरी नियन्त्रणमा छन्। जिल्ला प्रहरी कार्यालयमा मात्र २७१ वटा मुद्दा दर्ता हुँदा ४११ जना पक्राउ परेका छन् भने २ जना अझै फरार छन्।

प्रहरीले यस अवधिमा १६४९ केजी गाँजा, चरेस, ब्राउन सुगर लगायतका लागूपदार्थ बरामद गरेको छ। खास गरी सिमसार क्षेत्रलाई सुरक्षित स्थानका रूपमा प्रयोग गरेर कारोबार भइरहेको देखिएको छ।

यस्तै, मेचीनगर–११ स्थित कालिका सामुदायिक वन (सिमसार क्षेत्र) भित्रबाट एकै दिन ४३ जना लागू औषध प्रयोगकर्ता पक्राउ परेका छन्। तीमध्ये अधिकांश १५ देखि ४० वर्ष उमेर समूहका पुरुष हुन्। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिँदा १४ वटा मोटरसाइकल, एउटा अटो, र एउटा मारुती भ्यान पनि बरामद गरेको छ।

WhatsApp Image 2025-05-28 at 20.33.35 (1)

साथै, प्रहरीले लागू औषध बिक्रीमा संलग्न मेचीनगरका शनिल मेचे ९१८० र अजय मेचे ९२५० लाई पनि पक्राउ गरेको छ। उनीहरूबाट ब्राउन सुगर २।८९ ग्राम, विभिन्न लागूपदार्थ ट्याब्लेट, १८,४०० नगद र एक थान मोबाइलसमेत बरामद गरिएको छ।

झापामा लागू औषधसम्बन्धी अपराध बढ्न थालेपछि प्रहरीको निगरानी कडा पारिएको छ। यस अभियानमा प्रहरीको ध्यान नियन्त्रणभन्दा पनि पुनः स्थापनातर्फ केन्द्रित देखिएको छ, किनभने पक्राउ परेकामध्ये २७ जनालाई पुनः स्थापना केन्द्र पठाइएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार