गणतन्त्र फाल्न पञ्चहरू सडकमा, गणतन्त्रको विकल्प छैन : दलहरू

शुक्रबार, १६ जेठ २०८२

काठमाडौं : तत्कालीन ७ राजनीतिक दल र विद्रोही पक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी)सहित ८ दलको साझा संकल्पबाट प्राप्त गणतन्त्र प्राप्तिको १७ वर्षपछि ‘पूर्वपञ्चहरू’ सडकमा उत्रिएका छन् । 

१५ जेठ २०६५ मा जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षीय निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिनलाई सरकारसहित गणतन्त्र पक्षधरले ऐतिहासिक रूपमा मनाइरहँदा राजावादीहरूले त्यसको खिलापमा सडक तताएका हुन् । 

तर गणतन्त्रवादी दलहरूले भने गणतन्त्रको विकल्प राजसंस्था हुन नसक्ने दाबी गर्दै आएका छन् । वर्तमान गणतान्त्रिक व्यवस्थालाइ नै चिरस्थायी बनाउँदै संविधान संशोधनमार्फत नागरिकलाई अधिकार सम्पन्न बनाउने लक्ष्य राखेका गणतान्त्रिक दलहरूले बिहीबार भव्यताकासाथ दिवस मनाएका छन ।

सत्ता पक्षले १८ औं गणतन्त्र दिवस मनाउदै गर्दा राजावादीहरूले सदनदेखि सडकसम्म वर्तमान व्यवस्थाकै उपयोग गर्दै सोही व्यवस्थाका विरुद्ध उत्रिएको विषयमा गणतन्त्रवादी दलहरूले असन्तुष्टि जनाएका छन् । गणतन्त्र प्राप्तिको १८ वर्ष लाग्दै गर्दा नागरिकले के पाए ? भन्ने एउटा प्रश्न बाँकी नै रहिरहेको अवस्थालाई टेकेर गणतन्त्र विरोधी शक्तिहरू सलबलाउन थालेका हुन् । 

संविधान संशोधनमार्फत नागरिकलाई राज्य संयन्त्रका हरेक निकायमा पु¥याउने काममा लाग्नुपर्ने बेला फेरि राजा फर्काउछु भन्नु पश्चगमनको बाटो भएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार बताउँछन् ।

‘यही व्यवस्थाले आज हामी यो अवस्थामा पुुगेका छौं’, उनले भने ‘हामी गण्तन्त्रलाई नै अझ सुदृढ बनाउदै संविधान संशोधन मार्फत जनतालाई अधिकार सम्पन्न बनाउने पक्षमा छौं । फेरि राजा फर्काउछु भनेर हिँड्ने साथीहरूलाई हिजोको दिन सम्झन आग्रह छ,’ उनले भने ।  

राजसंस्थासहितको हिन्दुराष्ट्र बनाउने मुख्य राजनीतिक एजेण्डा बनाएको राप्रपाले बिहीबारबाट राजधानीमा प्रदर्शन थालेको बताएका छन । अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका राजावादी दल तथा समूहहरू एक ठाउँ भएर शक्ति सञ्चय गर्दै वर्तमान व्यवस्था ढाल्ने योजनासहित आन्दोलनका कार्यक्रम तय गरिएको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताए । पूर्वपञ्चहरू एक ठाउँमा आएर संयुक्त जनआन्दोलन समिति नै बनाएका छन् । 

बिहीबारको आन्दोलनमा समितिका संयोजक ७६ वर्षीय नवराज सुवेदीसहित विभिन्न राजावादी दल र संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो । 

राजावादीहरू छाता र राष्ट्रिय झन्डासहित सडकमा उत्रेका थिए । सो क्रममा उनीहरूले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यो आन्दोलनलाई जनमत संग्रहका रूपमा लिएको बताए । ‘राजतन्त्र र हिन्दूराज्य पुनस्र्थापनाको मागसहित सुरु भएको आन्दोलनको पहिलो दिन नै एउटा जनमत संग्रह भएको छ’, उनले दाबी गरे ।

गणतन्त्रको पक्षमा नेकपा एमालेले बिहीबार नै भृकुटीमण्डपमा निकालेको प्रदर्शनसँग आफ्नो प्रदर्शनलाई तुलना गर्दै उनले जनमत संग्रहको उदाहरण दिएका हुन् । एमालेले गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा ¥याली निकाल्न आह्वान गरेपनि सोचेअनुसारको जनमत सडकमा नदेखिएपछि राजावादीहरू थप उत्साही भएको देखिन्छ । 

गणतन्त्र नढालेसम्म आन्दोलन नरोकिने बताएका लिङ्देनले आजको प्रदर्शनलाई कास्टिङको संज्ञा दिए । देशका अन्य भूभागबाट आएकाहरू लामै समय बस्नेगरी आएको जानकारी दिँदै लिङ्देनले राजधानीबासीसँग पनि सहयोग मागे । ‘यो आन्दोलन कुनै पार्टीको मात्र होइन, यो आन्दोलन नेपालका लागि नेपाली जनताले गरेको पहिलो आन्दोलन हो,’ उनले भने ‘आज एउटा जनमत संग्रह सम्पन्न भएको छ । जनता राजतन्त्रको पक्षमा छन्, यो प्रमाणित भएको छ, ।’ 

यद्यपी यत्तिकै संख्यामा गरिएको जनप्रदर्शनले वर्तमान व्यवस्थामाथि कुनै समस्या नआउने भन्दै गणतनत्रवादी दलका नेताहरू ढुक्क छन् । १५ जेठ कै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको उनीहरूको भनाइ छ । 

विश्वमा अभ्यासमा रहेका शासन व्यवस्थामध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि यो व्यवस्थालाई नै बलियो बनाउदै लैजानुको विकल्प नभएको नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले बताइन् । 

गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरूले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताएका थियो ।

आजको मध्यान्न दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार