काठमाडौँ महानगरको सीप मेला कति उपयोगी ?

आइतबार, २५ जेठ २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयोजना गरिरहेको दोस्रो संस्करणको सीप मेला काठमाडौँको ठुलो टुँडिखेलमा जारी छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ नारा दिएर सञ्चालनमा रहेको मेलामा १० क्षेत्रका ३७ पेसामा तालिम प्रदान गर्ने लक्ष्य छ ।

तालिमको सञ्चालन अवधि ३० दिनको हो । तालिम दैनिक छ ओटा कक्षा सञ्चालन गरेर १०० घण्टा तालिम दिइरहेको छ  ।

आइसिटी क्षेत्रमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर टेक्निसियन, बौद्धिक कृत्रिमताका लागि एआइ र यसको प्रयोग एआइ एन्ड इट्स एप्लिकेसन गरी पाँच विधामा तालिम सञ्चालित छ ।

स्पेसल एभिलिटी सपोर्ट स्किल साउन सिनड्रोम, अटिज्म हाउस किपिङ पिडब्लुडी र केयर सर्भिस गरी दुई ओटा विधाका तालिम सञ्चालन हुँदै आएको छ । इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एन्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ, मोबाइल रिपेयरिङ गरी चार विधाका तालिम भएको छ  ।

गार्मेन्टमा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ गरी दुई विधा कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ र कार्पेन्ट्री गरी पाँच विधामा तालिम भएको छ । हस्पिटालिटीमा बारिस्टा, वेटर, फास्ट फुड र बेकरी गरी चार विधामा भैरहेको छ ।

अटोमोबाइल्समा इलेक्ट्रिक भेहिकल इभी मेन्टिनेन्स, हलुका सवारीसाधन उपकरण मर्मत लाइट भेहिकल मेसिन, विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी तीन विधामा तालिम सञ्चालन गरेको छ  । आर्ट एन्ड स्कप्चरमा थाङ्का, सेरामिक्स टेराकोटा गरी दुई विधामा तालिम गर्दै ज्योतिष र पुरोहितको पनि तालिम चलिरहेको छ । कृषिमा फूलको सजावटसम्बन्धी तालिमसहित सौन्दर्यकर्मी, मेकअप एन्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने र स्टक मार्केट तालिम समेत महानगरले गराइरहेको छ  ।

महानगरले काठमाडौँ महानगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडक पेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखेको छ ।

२०८२ सालमा कम्तीमा २०८२ जनालाई तालिम प्रदान गर्ने लक्ष्य लिएको महानगरले सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गरिरहेको छ  । 

जेठ ७ गते देखि सुरु भएको तालिमका सम्बन्धमा बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तालिम चलाएर एकदमै महत्वपूर्ण कामको काम गरेको र सीप सिकेकाहरुले यसलाई सहि सदुपयोग गरि देशमै केही गर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘महानगरले एकदमै महत्वपूर्ण काम गरिरहेको छ । सीप सिकेकाहरुले यसलाई सही सदुपयोग गरि देशमै केहि गर्न सकिन्छ भनि गरेर देखाउन आवश्यक छ । यसरि नै देशलाई विकास गर्न सकिन्छ । नयाँ परिवर्तनको लागि टेक्नोलोजिलाई बढी प्राथमिकता दिएको छ यो राम्रो पक्ष रहेको छ । अरुले गरेको कुरा हामी किन गर्न सक्दैनन् भन्ने महानगरले प्रमाण गरिदिएको छ । सबैको हातमा सीप हुन आवश्यक छ । देश तथा विदेशमा सीपको आवश्यक पर्ने हुँदा सीप सिक्न जरुरी छ ।’

महानगरपालिकाका तालिम संयोजक देवेन्द्र केसीले २५४७ जनाले तीन सिफ्ट गरि तालिम लिइरहेको बताउँदै उनले तालिम  बिहान ७ बजे देखि बेलुकी ७ बजेसम्म खुल्ने गरेको बताए ।

संयोजक केसीले अहिले कस्तो खालको उद्योग बजारमा आवश्यक छ भनि खोजीनिती गरी तालिम सन्चालनमा ल्याएको बताए । यहाँ सिकेका सीपले सम्पूर्णले जागिर पाउने विश्वास व्यक्त गरे ।

उनले भने ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि तीन बर्षे आयोजना हो । सोही अन्तर्गतको दोस्रो संस्करण हो । यसमध्ये २५४७ जनाले तीन सिफ्ट गरि तालिम गरिरहेको छन् । ०८१ मा नागरिकहरुको मागलाई फोकस गरेका थियौं । अहिले कुन उद्योग आवश्यक छ त्यस अनुसार तालिम लिनेलाई जागिरमा लगेको र १२ सयभन्दा बढीलाई अहिलेपनि प्राथमिकता दिएका छौं । हाल कस्तो किसिमको उद्योगमा जनशक्तिको माग छ सोही अनुसार तालिम चलाएका छौं ।’

उक्त तालिममा सीप सिकेका विद्यार्थी छत्रबहादुर शाहीले आफूमा सिक्ने चाहना छ भने तालिमले क्षमता बढाएर अगाडि बढाउन सहयोग गरिरहेको बताउँछन् ।

अनिवार्य रुपमा हरेक वडादेखि यस्ता कार्यक्रम गर्न आवश्यक रहेको बताए । उनले युवालाई यस्ता सीपबाट विदेश पलायन हुनबाट रोक्न पर्ने भन्दै महानगरले यस्तो कार्यक्रम सञ्चालन गरेकोमा खुशी व्यक्त गरे । उनले सीप मेलामा सबैभन्दा बढी आकर्षित  गर्ने भनेको स्टक मार्केत रहेको र यो थोरै लगानीमा धेरै आम्दानी हुने समेत दाबी गरे ।

उनले भने,‘यहाँ सीप सिकेर सेल्फ कन्फिडेन्स बढाएर केहि गर्न सकिन्छ । आफूमा एउटा सिक्ने चाहना छ भने तालिमले क्षमता बढाएर अगाडि बढाउन सहयोग गरिरहेको छ । यस्ता खालका कार्यक्रम सरकारले स्थानीय तहमा अनिवार्य गरिनुपर्छ । युवालाई यस्ता सीपबाट विदेश पलायन हुनबाट रोक्न पर्ने हो । तर यस्तो हुन सकेन तरपनि  काठमाडौँ महानगरपालिकाले गरेकोमा खुशी छौँ । मेलामा बढी आकर्षित गर्ने भनेको स्टक मार्केट हो । किनकी यसमा थोरै लगानीमा धेरै आम्दानी हुने भएकाले सबैभन्दा राम्रो लागिरहेको छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार