धरान : रासायनिक मल हिनामिनामा दोषी ठहर फरार प्रतिवादी खगेन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, विराटनगरको गोदाममा मौज्दात रासायनिक मल हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौँले लागत नं. ०७६-सिआर-०१४९ अनुसार २०७९ भदौ २८ गते प्रतिवादी खगेन्द्र बस्नेतलाई दोषी ठहर गरेको थियो।
उक्त फैसलाअनुसार बस्नेतलाई २ वर्ष ६ महिना कैद र रु. ९ लाख २८ हजार ६ सय ७५ जरिवाना तोकिएको थियो। फैसला पश्चात् फरार रहेका बस्नेतलाई खोजतलास गर्ने क्रममा २०८२ जेठ २५ गते बिहान ७:३० बजे इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको कमाण्डमा खटिएको टोलीले उनकै घर रामधुनी नगरपालिका–७, सुनसरीबाट पक्राउ गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।
पक्राउ परेका बस्नेतलाई सम्मानित जिल्ला अदालत सुनसरीमा उपस्थित गराउने प्रक्रिया अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ।
प्रतिक्रिया