मधेश सरकारको एक करोड रुपैयाँभन्दा कम लागतका योजना बजेटमा समावेश नगर्ने

बुधबार, २७ चैत्र २०८१
जनकपुर । मधेश सरकारले आगामी आर्थिक वर्षदेखि एक करोड रुपैयाँभन्दा कम लागतका योजना वार्षिक बजेटमा समावेश नगर्ने निर्णय गरेको छ । जनकपुरधाममा पहिलो पटक बसेको प्रदेश विकास समस्या समाधान समितिको बैठकले सो निर्णय गरेको जनाइएको छ । बैठकको निर्णयअनुसार, अबदेखि आयोजना तथा कार्यक्रमको न्यूनतम सीमा एक करोड रुपैयाँ तोकिएको छ । एक करोडभन्दा कम लागतका कुनै पनि योजना वा कार्यक्रम वार्षिक कार्य योजनामा नसमेटिने स्पष्ट गरिएको छ । मधेश प्रदेश नीति तथा योजना आयोगले तयार पारेको ‘प्रोजेक्ट बैङ्क’ मा सबै योजनाहरू प्रविष्ट गरेपछि मात्र तिनलाई ‘पीएलएमबीआइएस’ प्रणालीमा समावेश गर्ने निर्णय पनि बैठकमा भएको छ । आयोगका उपाध्यक्ष डा.सोहनकुमार साहका अनुसार, जेठ २१ गतेभित्र सबै आयोजनाहरू प्रोजेक्ट बैङ्क तथा पीएलएमबीआइएसमा दर्ता गरिसक्नुपर्नेछ । त्यस्तै, अधुरा तथा अपूरा योजनाको विवरण पनि प्रोजेक्ट बैङ्कमा समावेश गर्ने र तिनलाई आवश्यकता अनुसार वार्षिक कार्यक्रममा राख्ने बैठकले निर्णय गरेको छ । प्रदेश विकास समस्या समाधान समितिको पहिलो बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंहसहित, प्रदेशका मन्त्री र प्रदेश मातहत रहेका मन्त्रालयहरूका सचिवको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार