जिल्लामा उपसचिव हारेकी शिल्पा केन्द्रीय सदस्य निर्वाचित

विहीबार, ०३ पुस २०८२

विराटनगर : नेकपा एमाले मोरङ जिल्ला अधिवेशनमा उपसचिव पदमा पराजित भएकी विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी छन्।

गत फागुनमा सम्पन्न १०औँ जिल्ला अधिवेशनमा उपसचिव पदमा पराजित भएकी कार्की यसपटक एमालेको केन्द्रीय राजनीतिमा प्रवेश गर्न सफल भएकी हुन्। संस्थापन समूहबाट उम्मेदवार बनेकी उनले १ हजार ७ सय ४३ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

कार्की फागुनमा सम्पन्न मोरङ जिल्ला अधिवेशनको अन्तिम चरणमा तत्कालीन इतर समूह छोडेर संस्थापन समूहमा खुलेकी थिइन्। तर जिल्लामा इतर समूहको प्यानल विजयी हुँदा उनी उपसचिव पदमा पराजित भएकी थिइन्। उक्त अधिवेशनमा इतर पक्षकी उम्मेदवार उषा झा ४१८ मतसहित उपसचिव निर्वाचित हुँदा कार्कीले ४०५ मत पाएकी थिइन्।

कार्की मोरङ क्षेत्र नम्बर ६ की मतदाता हुन्। ११औँ महाधिवेशन प्रतिनिधि छनोटका क्रममा सो क्षेत्रबाट इतर समूहको प्यानल, विनोद ढकालसहित विजयी भएपछि कार्की उम्मेदवार नै बनेकी थिइनन्।

महाधिवेशन उद्घाटनको अघिल्लो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले १०८ जना प्रतिनिधि मनोनयन गर्दा कार्की पनि सूचीमा परेकी थिइन्। सोही मनोनयनमार्फत उनी केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन्।

एमाले विराटनगरका एक नेताले भने, “जिल्लामा उपसचिव हारेपछि महाधिवेशन प्रतिनिधिमा पनि हार निश्चित देखेपछि उहाँ उम्मेदवार नै बन्नुभएन। मनोनयनमार्फत प्रतिनिधि भएर केन्द्रीय सदस्यको चुनाव भने जित्नुभयो। तर आधार क्षेत्रबाट चुनाव लड्न उहाँ डराउनुभयो।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार