विराटनगरमा चिनियाँ नागरिकको शंकास्पद गतिविधि, सुरक्षा निकाय सतर्क

आइतबार, २५ जेठ २०८२

विराटनगर : भारतसँग सिधा सीमा जोडिएको कोशी प्रदेशको राजधानी विराटनगरमा चिनियाँ नागरिकको शंकास्पद गतिविधि देखिएपछि सुरक्षा निकाय सतर्क बनेका छन्। करिब दुई महिनादेखि विराटनगरमा डेरा जमाएर बस्दै आएका दुई जना चिनियाँ नागरिकले अध्यागमन तथा व्यापारसम्बन्धी कानुनी प्रावधानको उल्लंघन गर्दै आएको खुलेको छ । 

विराटनगर महानगरपालिका–११ मा घर भाडामा लिएर बसोबास गरिरहेका ती चिनियाँ नागरिकले ठूला बजार, टोल र साप्ताहिक हटियामा पुगेर सुनजस्तो देखिने पहेँलो धातुका गरगहना बिक्री गर्ने गरेको पाइएको छ।

महिलाहरुलाई प्रलोभन देखाएर घर–घर पुग्ने उनीहरूको तरिका रहस्यमय देखिएको छ।उनीहरूले जलजला चोकमा एउटा सानो पसल पनि सञ्चालन गरिरहेका छन्, तर स्थानीय प्रशासन र अध्यागमन कार्यालयले उनीहरुको व्यावसायिक अनुमति र भिसाका बारेमा जानकारी नभएको बताएका छन्।

सुरक्षा स्रोतका अनुसार ती चिनियाँ नागरिक प्रदेश १–०१–००२ ह ३२६४ नम्बरको एक सवारीसाधन (सीटी सफारी) भाडामा लिएर दैनिक रूपमा विभिन्न ठाउँ पुग्ने गरेका छन्। उक्त गाडीका चालकका अनुसार उनले दैनिक झण्डै ४–५ हजार रुपैयाँ बराबरको सामान बिक्री गर्छन् र सवारी भाडाबापत प्रतिदिन १ हजार ५ सय रुपैयाँ तिर्छन्। तर सोधीखोजी गर्दा चिनियाँ नागरिकले आफ्नो भिसा प्रकार वा व्यापारका लागि अनुमति दिएको प्रमाण देखाउन सकेनन्।

सुरक्षा निकायले चिनियाँ नागरिकको गतिविधि सीमावर्ती क्षेत्रमा केन्द्रित रहनु र व्यापारको आवरणमा सम्भावित अन्य उद्देश्य लुकेको आशंका गर्दै उच्च सतर्कता अपनाएको छ। एक सुरक्षाकर्मीका अनुसार, “भारत–चीनको भू–राजनीतिक सन्दर्भमा चिनियाँ नागरिकको यस्तो गतिविधि नेपालको सुरक्षा चुनौती बन्न सक्छ।” 

‘नेपालमा भन्दा चीनमा व्यापारको सम्भावना र अवसर राम्रो छ । त्यहाँमाथि पहेँलो धातुका सामान बेचेर कति नै कमाइ हुन्छ र ? व्यापार गरेजस्तो देखाएर अरु नै योजना पूरा गर्ने उद्देश्य छ कि भनेर आशंका गर्ने पर्याप्त आधारहरु छन्,’ सुरक्षा स्रोतले भन्यो । स्रोतका अनुसार सीमा क्षेत्रमा चिनियाँको शंकास्पद गतिविधिका कारण छिमेकी मुलुक भारतले नेपालाई शंकाको दृष्टिले हेर्न सक्छ । 

विराटनगर अध्यागमन कार्यालयका प्रमुख भक्तबहादुर राजवंशीले भिसा विवरणको पुष्टि नभएको बताउँदै अनुसन्धान थालिएको जानकारी दिए। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायणप्रसाद चिमरियाले वास्तविकता पत्ता लगाउन प्रहरी टोली परिचालन गरिएको बताए।

सुरक्षा स्रोतले यो गतिविधि भिजिट भिसाको दुरुपयोगबाट भएको हुन सक्ने आशंका गरेको छ ।  यदि अवैध रूपमा बसोबास वा व्यापार गरिरहेको पुष्टि भएमा सम्बन्धित चिनियाँ नागरिकमाथि कानुनी कारबाही गर्दै डिपोर्टको प्रक्रिया अगाडि बढाइने सुरक्षा स्रोतले जनाएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार