चरिकोट : नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले समृद्ध नेपाल निर्माणको अभियानमा जनप्रतिनिधि र पार्टी एक भएर लाग्नुपर्नेमा जोड दिएका छन्।
नेकपा एमाले दोलखाद्वारा चरिकोटमा आयोजित जनप्रतिनिधि र पार्टीबीचको अन्तर्संवाद कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले “समृद्ध नेपाल, सुखी नेपाली” एमालेको प्रमुख एजेन्डा रहेको दोहोर्याए।
“समृद्धिको एजेन्डा नेकपा एमालेको हो। विगतदेखि उठाएका योजनाहरू अहिले पनि साकार पार्दै अघि बढिरहेका छौं,” उनले भने, “यो यात्रामा जनप्रतिनिधि र संगठनले समन्वयमा काम गर्नुपर्छ।”
गुरुङले हाल सामाजिक सञ्जालमा विभिन्न नेताहरूले ‘मैले बजेट ल्याएँ’ भनेर दावी गर्नुप्रति टिप्पणी गर्दै त्यसमा नझुक्किन आग्रह गरे। “विकासको नेतृत्व गर्ने पार्टी एमाले हो। जस होस् वा अपजस, हामी जिम्मेवारी लिएर अघि बढेका छौं,” उनले स्पष्ट पारे।
उनले दोलखामा एमाले नेतृत्वमा विभिन्न गौरवपूर्ण योजना अघि बढाइएको उल्लेख गर्दै ती योजनाको प्रचार गर्नभन्दा कार्यान्वयनमै ध्यान केन्द्रित गरिएको बताए। “हामीले बजेट ल्यायौं भनेर फेसबुकमा लेख्न चाहेका होइनौं, हामी कामले देखाउन चाहन्छौं,” उनले भने।
अबको प्राथमिकता दोलखाका सबै सडकलाई कालोपत्रे गर्ने र जिल्लालाई ‘अर्ग्यानिक दोलखा’को रुपमा विकास गर्ने रहेको गुरुङले बताए।
प्रतिक्रिया