उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह

मंगलबार, २४ असार २०८२

मुस्ताङ :  उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण बाढी आएको छ । आज साँझ ५ बजेदेखि लोमान्थाङको चुमजुङ लेकबाट भीषण लेदोसहितको बाढी आएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।

अहिलेसम्म चुमजुङ लेकबाट आएको भीषण बाढीका कारण लोमान्थाङ गाउँपालिकाभित्रका करिब चार वटाभन्दा बढी अस्थायी पुल र कल्र्भट बगाइसकेको गाउँपालिका अध्यक्ष गुरुङले बताए । 

“यहाँको चुमजुङ गाउँमाथिको उच्चलेकबाट निकै ठूलो लेदोसहितको भीषण बाढी आइरहेको छ, यसले ठूलो क्षति निम्त्याउन सक्ने जोखिम बढेको छ”, अध्यक्ष गुरुङले भने, “हामी अहिले बाढीलाई नजिकबाट नियालिरहेका छौँ, यहाँबाट मुस्ताङको तल्लो क्षेत्रमा कालीगण्डकी तटीय बस्तीलाई फोनबाट सर्तक रहन आग्रह गरेका छौँ ।” 

यहाँको बाढीको प्रभावले कालीगण्डकी तटीय क्षेत्रका बस्तीलाई थप जोखिम हुने देखिएकाले सर्तक रहन हामीले फोनमार्फत सूचना गरेको अध्यक्ष गुरुङको भनाइ छ । उपल्लो मुस्ताङको चुमजुङ गाउँ नेपाल–चीन सीमावर्ती नजिकको गाउँ हो । 
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार