एसीसी प्रिमियर कप: नेपालले आज ओमानको सामना गर्ने

शुक्रबार, ०८ बैशाख २०८०
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज दुई खेल हुँदैछन् । जस अन्तर्गत टियु क्रिकेट मैदानमा नेपालले ओमानको सामना गर्दै छ भने मुलपानी क्रिकेट मैदानमा हङकङ र युएईबीचको खेल हुँदैछ । नेपाल र ओमानबीचको खेल आइसीसीको एकदिवसीय खेल हुनेछ र नेपालको लागि यो ५०औं एकदिवसीय खेल हुनेछ । जारी प्रतियोगितामा नेपालले मलेसियालाई पराजित गरेको थियो भने ओमानले कतारलाई पराजित गरेको थियो । यसअघि भएको अभ्यास खेलमा नेपालले ओमानलाई सजिलै पराजित गरेको थियो । तर अहिलेसम्म नेपाल र ओमानबीच भएका ६ एकदिवसीय खेलमा ओमानले चार खेलमा जित हासिल गरेको छ भने नेपालले दुई खेलमा जितेको छ । घरेलु मैदानमा आफ्ना फ्यानहरुको उपस्थितिमा खेल्न लागेकोले नेपालले त्यसको फाइदा उठाउन सक्ने देखिन्छ । १० टोली सहभागी प्रतियोगिताको समूह ए’मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी’मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्ने छन् । विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार