काठमाडौं । हनुमानढोकास्थित कुमारीघरमा बस्ने जीवित देवी कुमारी आर्यतारा शाक्यले आज दशैंको टीका सर्वसाधारणलाई लगाइदिने भएकी छन् । कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यका अनुसार कुमारीले बिहान ११ बजेपछि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको छ ।
नेपालीहरूको महान चाड विजया दशमीमा टीका–जमरा देवी दुर्गाको प्रसादका रूपमा ग्रहण गरिन्छ । त्यसैले टीका लगाउन साइत हेर्न नपर्ने परम्परा भए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट तोकेको छ ।
महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको थियो । देवीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका आधारमा कुमारीलाई प्रत्येक वर्ष महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराउने परम्परा रहेको छ ।
यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले भने यस वर्ष दशैंको टीका नलगाउने निर्णय गरेकी छिन् । उनको सचिवालयले दिएको जानकारीअनुसार उनले सर्वसाधारणलाई पनि टीका नलगाइदिने भएकी छन् ।
प्रतिक्रिया