पर्वत : पटक–पटक म्याद थप गर्दापनि पाँच वर्षभित्र सडक आयोजना सम्पन्न नगरेपछि ठेकेदार कम्पनीको जमानत जफत गरिएको छ।
पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक–बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआर/ओमबुद्ध जेभी वसुन्धरा, काठमाडौँको मोबिलाइजेशन पेस्की बापतको बैङ्क जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत गरी असुल गरेको हो।
वि.सं. २०७८ जेठ १८ गते सम्झौता भएको उक्त सडक १८ महिनाभित्र सम्पन्न गर्ने सहमति गरिएको थियो। त्यस अनुसार २०७९ फागुन १७ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने भए पनि ठेकेदारले सडक चक्ल्याउने बाहेक अन्य काम नगरेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले बताए।
कार्यालयले पटक–पटक म्याद थप गर्दै अन्ततः वि.सं. २०८१ चैत २९ गतेसम्म समय दिएको थियो। तर ठेकेदार काममा नफर्किएपछि अन्ततः जमानत नै जफत गर्नुपरेको कार्यालय प्रमुख अर्यालको भनाइ छ।
करिब ११ करोड २२ लाख ६६ हजार रुपैयाँ लागतमा निर्माण हुने झन्डै छ किलोमिटर लामो उक्त सडकको निर्धारित अवधिसम्म ३५ प्रतिशत मात्र भौतिक र वित्तीय प्रगति भएको थियो।
ठेकेदारलाई काममा फर्किन मौखिक र लिखित रूपमा पटक–पटक पत्राचार गरिए पनि उनीहरूबाट कुनै प्रतिक्रिया नआएपछि अब ठेक्का तोड्ने तयारी भइरहेको कार्यालयले जनाएको छ।
सडक निर्माण सुरु गरेर ठेकेदार सम्पर्कविहीन बनेपछि सडक झनै अस्तव्यस्त बनेको छ। अहिले यो सडकमा सवारीसाधन सञ्चालनमा निकै सास्ती भएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिए।
निर्माण सुरु भएपछि ठेकेदार कम्पनीले करिब चार करोड १३ लाख रुपैयाँ भुक्तानी लगिसकेको थियो। जमानत जफत भएपछि पनि कम्पनी सम्पर्कमा नआएपछि अब अन्य कानुनी कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।
नाली व्यवस्थापन नगरी सडक भत्काएर छाडिएको कारण गाउँपालिकाको वडा नं. ५ को काफलडाँडास्थित कार्यालय, साथै बालाकोट र होश्राङदीका बासिन्दालाई दैनिक आवतजावतमा समस्या भएको अध्यक्ष भुसालले बताए।
गण्डकी प्रदेश सरकारको रणनीतिक सडक आयोजनाअन्तर्गत रहेको यो सडक लामो समयदेखि अलपत्र पार्ने ठेकेदार कम्पनीमाथि कडा कारबाही गर्नुपर्ने स्थानीयवासीहरूको गुनासो रहेको छ।
प्रतिक्रिया