मनाङ । मनाङमा परेको भारी हिमपातका कारण फसेका १५ सय नागरिकको नेपाली सेनाले उद्धार गरेको छ । हिमपातका कारण तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ र हुम्दे क्षेत्रका बासिन्दा तथा पर्यटकहरू कठिनाइमा परेपछि सेनाले उद्धार कार्य थालेको थियो ।
नेपाली सेनाको मनाङस्थित नयाँ भैरवीदल गुल्मबाट खटिएको टोलीले प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा ती सबैलाई सुरक्षित स्थानमा पुर्याएको हो । सेनाका अनुसार उद्धार गरिएका मध्ये करिब दुई सय जना विदेशी पर्यटक रहेका छन् ।
गत केही दिनयता लगातार परेको हिमपातका कारण मनाङका विभिन्न उच्च पहाडी क्षेत्रमा जनजीवन प्रभावित भएको छ । हिमपातले आवतजावत अवरुद्ध भएपछि पर्यटक र स्थानीय दुवैजना जोखिममा परेका थिए । नेपाली सेनाले आपतकालीन उद्धारका साथै आवश्यक सहजीकरण कार्य पनि जारी राखेको जनाएको छ ।
प्रतिक्रिया