जंगलमै ज्यान लिने प्रयास, पाँचथरमा गहना लुटेर छिमेकी फरार

आइतबार, १३ पुस २०८२
घाइते विष्णुमाया

पाँचथर : पाँचथरको याङवरक गाउँपालिका–६ की ६० वर्षीया विष्णुमाया रसाइलीमाथि गहना लुटपाट गरी कुटपिटपछि बेहोस अवस्थामा जंगलमा छाडिएको छ। घटनामा संलग्न रहेको आरोपमा ५२ वर्षीया छिमेकी धनमाया सेलिङ फरार रहेकी जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रहरीका अनुसार शनिबार अपरान्ह सेलिङ रसाइलीको घरमै पुगेर “जंगलमा कालिजको बच्चा देखेकी छु, समातौं, सुँगुरको चारो पनि खोजेर ल्याउँ” भन्दै साथ लगेर जंगल पुर्‍याएकी थिइन्। जंगलमा पुगेपछि सेलिङले रसाइलीलाई आफैंले लगाएको पेटिकोटको कपडाले मुख छोपेर कुटपिट गरी बेहोस बनाएको प्रहरीले जनाएको छ।

बेहोस भई मरेको ठानेर सेलिङले रसाइलीको नाक र कानमा लगाएका गहना लुटेर फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। लुटिएका गहनामा कानमा लगाएका दुई थान, नाकको एउटा बुलाकी र एउटा फूली गरी डेढ तोलाभन्दा बढी तौलका तीन थान सुनका गहना रहेका छन्।

मरणासन्न हुनेगरी कुटपिटपछि बेहोस भएकी रसाइली केही समयपछि होसमा आएर परिवारको सम्पर्कमा पुगेकी थिइन् र घटनाबारे जानकारी दिएकी हुन्। सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी र स्थानीयको सहयोगमा घाइते रसाइलीलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेकी धनमाया सेलिङको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार