काठमाडौँ : निजामती अस्पतालले अबदेखि कुनै पनि औषधि कम्पनीका मेडिकल प्रतिनिधिहरू (एमआर)लाई अस्पताल परिसरभित्र प्रवेश गर्न निषेध गरेको छ ।
अस्पताल प्रशासनले ड्युटीमा रहेका चिकित्सकहरूसँग एमआरहरूले गर्ने भेटघाटका कारण बिरामी सेवामा बाधा पुग्ने र अस्पतालको वातावरणमा नकारात्मक असर पर्ने भन्दै यस्तो निर्णय गरेको हो ।
अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘अस्पतालको संवेदनशील वातावरणलाई प्रभावित पार्ने गतिविधि अस्वीकार्य छन् ।
अबदेखि अस्पताल परिसरमा कुनै पनि औषधि कम्पनीका प्रतिनिधिहरू आएर यस्ता कार्य गरेको पाइएमा नियमअनुसार कारबाही गरिनेछ ।’
अस्पताल प्रशासनले औषधि कम्पनीहरूलाई चिकित्सकहरूसँग भेटघाटका लागि आवश्यक परे तोकिएको प्रक्रिया र समय अनुसरण गर्न समेत आग्रह गरेको छ ।
यसअघि देशका अन्य सरकारी अस्पतालहरूले पनि एमआरहरूको अनियन्त्रित आवतजावतका कारण यस्ता प्रतिबन्ध लगाउँदै आएका छन् ।

प्रतिक्रिया