काठमाडौँ : भदौ २३ गते सुरु भएको जेन–जी आन्दोलनपछि नेपाल प्रहरी सङ्गठनभित्र प्रशासनिक हेरफेर गरिएको छ। आन्दोलनपछि देखिएको सुरक्षागत चुनौतीसँगै प्रहरी सङ्गठनमा जिम्मेवारीको पुनर्संरचना गरिएको हो।
हाल कार्यरत चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) को जिम्मेवारी परिवर्तन गरिएको छ भने रिक्त रहेका चार पदका लागि नयाँ एआईजी बढुवाको सिफारिस भइसकेको छ।
भदौ २४ गतेकै निर्णयअनुसार एआईजी दानबहादुर कार्कीलाई मानव स्रोत विभागबाट स्थानान्तरण गरी काठमाडौँ उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी दिइएको छ । त्यसपछि प्रदेश समन्वय विभागमा कार्यरत एआईजी डा. मनोजकुमार केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरिएको छ।
कार्य विभागका एआईजी सिद्धिविक्रम शाहलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाइएको छ भने अपराध अनुसन्धान विभागका एआईजी राजन अधिकारीलाई मानव स्रोत विभागको जिम्मेवारी दिइएको छ। असोज १२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार उनीहरूले नयाँ जिम्मेवारी सम्हालेका छन्।
यी सरुवापछि अब कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रशासन विभाग र प्रदेश समन्वय विभाग रिक्त रहेका छन्। यी चार विभागमा हालै बढुवा सिफारिसमा परेका डिआइजीहरूलाई पदस्थापन गरिने तयारी भएको स्रोतले जनाएको छ।
प्रतिक्रिया