एमाले नेता महेश बर्तौलाको आरोप : ‘गृहमन्त्रीले देशमा भय र अराजकता फैलाइरहेका छन्’

बुधबार, २२ असोज २०८२

काठमाडौँ : नेकपा (एमाले)का नेता महेश बर्तौलाले हालको सरकारमाथि जनादेश र संविधान विपरीत कार्य गरिरहेको आरोप लगाएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत बर्तौलाले लेख्दै वर्तमान गृहमन्त्रीलाई “प्रतिशोध, झूट, भ्रम, असत्य र बेइमानको असली सेवक” भएको टिप्पणी गरेका छन्।

उनले भनेका छन्, “जनताको नाममा बनेको यो सरकार वास्तवमा अराजकता र प्रतिशोधमा आधारित शासन प्रणालीको प्रतीक बनेको छ।”

बर्तौलाका अनुसार गृहमन्त्रीले देशभर अराजकता फैलाउने उद्देश्यसहित केही व्यक्तिहरूलाई प्रयोग गरिरहेका छन्।

उनले आरोप लगाएका छन् कि गृहमन्त्रीले आफ्नै योजनामा “केही मुठ्ठीभर बुख्याचाहरू” खडा गरी तिनमार्फत राज्यका पदाधिकारी र राष्ट्रसेवकहरूलाई धम्क्याउने, त्रास सिर्जना गर्ने र शान्ति भङ्ग गराउने कार्य भइरहेको छ।

उनका अनुसार गृहमन्त्रीको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालतजस्ता स्वतन्त्र संस्थामाथि दबाब सिर्जना गर्ने, पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरू विरुद्ध षड्यन्त्रपूर्ण मुद्दा दर्ता गराउने, मिडिया ट्रायल सञ्चालन गर्ने र सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री प्रचार गर्ने जस्ता *“घृणित गतिविधि”*हरू भइरहेको छन्।

बर्तौलाले गृहमन्त्रीमाथि जनताको सुरक्षाको जिम्मेवारी बिर्सेर पदको दुरुपयोग गरेको आरोपसमेत लगाएका छन्।

उनले लेखेका छन्, “देश र जनताको जिउधनको सुरक्षाको जिम्मेवारी बोकेको गृहमन्त्री आफैँ भय, त्रास र प्रतिशोधको साम्राज्य खडा गर्दै शासनमा टिक्ने प्रयत्नमा छन्।”

उनले अन्त्यमा लेखेका छन्, “वर्तमान शासनको अस्थायित्व र अन्यायपूर्ण अभ्यास लामो समय टिक्दैन। रात जतिसुकै लामो भए पनि बिहानी भएरै छोड्छ।”

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार