झापा गाउँपालिकाका ६ सय ३६ परिवारलाई राहत वितरण

विहीबार, २३ असोज २०८२

झापा । बाढीबाट प्रभावित भएका झापा गाउँपालिकाका ६ सय ३६ परिवारलाई आज राहत वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको उपस्थितिमा ‘एकका लागि एक अभियान’को अगुवाइमा गाउँपालिकाको वडा नं १ र २ का परिवारहरूलाई राहत वितरण गरिएको हो ।

उनीहरूलाई प्रति परिवार १ बोरा चामल, १ लिटर तेल, २ केजी नुन, ५ केजी आलु, २ केजी दाल, १ काटुन पानी, २ थान म्याट्रेस र २ थान कम्बल वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रजिअ अधिकारीका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार राहत वितरण एकद्वार प्रणाली अन्तर्गत गरिएको हो ।

गाउँपालिकाको वडा नं १ को मिलनबस्तीका ८९, सालमाराका २८८, वडा नं २ को सुगाबथानका ६६ र कुवाडीका १९३ परिवार गरी कुल ६३६ परिवारलाई राहत वितरण गरिएको थियो । वडा नं १ का बाढीपीडितका लागि नेपाल रेडक्रस सोसाइटीको भवनबाट र वडा नं २ का लागि इलाका प्रहरी कार्यालय कुमरखोदबाट राहत वितरण गरिएको थियो ।

‘एकका लागि एक अभियान’का संयोजक महेन्द्रकुमार गिरीका अनुसार उक्त अभियानको अगुवाइमा संकलित रकमबाट झापा गाउँपालिकाका बाढी तथा डुबानपीडित मध्ये ५०० परिवारलाई प्रति परिवार तीन हजार रुपैयाँभन्दा बढीको खाद्यान्न तथा गैर–खाद्यान्न सामग्री वितरण गरिएको हो । उनका अनुसार अभियानबाट हालसम्म करिब एक हजार परिवारका लागि राहत प्याकेज जुटाइएको छ भने अझै एक हजार परिवारका लागि राहत जुटाउन बाँकी रहेको छ । अभियानले हालसम्म मात्रै दुई सय परिवारका लागि राहत उपलब्ध गराएको उनले बताए ।

WhatsApp Image 2025-10-09 at 10.37.32_b51a5258

राहत वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बू, राष्ट्रिय अनुसन्धान कार्यालय झापाका उप अनुसन्धान निर्देशक उमेश पाण्डे, सशस्त्र प्रहरी बल नेपाल २ नं गणका सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, अरिदमन गणका गणपति सेनानी सरोज थापा, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीसहित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा प्रजिअ अधिकारीले राहत वितरण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सुरक्षा निकाय, स्थानीय सरकार, नेपाल रेडक्रस सोसाइटी तथा सबै सहयोगी प्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार