काठमाडौँ : गत असोजमा आएको बाढी–पहिरोका कारण पुगेको क्षतिपछि बीमा कम्पनीहरूमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार रुपैयाँ बराबरको दाबी परेको छ।
गत असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनमा ठूलो क्षति पुगेको थियो। बीमा प्राधिकरणका अनुसार यस सम्बन्धमा जम्मा ४३४ वटा बीमा दाबीका आवेदन परेका छन्।
प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा (निजी) ३७, मोटर बीमा (सार्वजनिक) १०, अन्य बीमा एक र सामुद्रिक बीमाका तीन वटा आवेदन परेका छन्।
यस्तै, गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको लागि २३ अर्ब २३ करोड रुपैयाँ बराबरको बीमा दाबी आवेदन परेको छ। त्यसैगरी, गत असारमा आएको बाढी–पहिरोका कारण ९८ करोड ५९ लाख रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको थियो।
प्राकृतिक जोखिमका घटनामा वृद्धि भएसँगै बीमा कम्पनीहरूमा दाबी आवेदनको सङ्ख्या पनि उल्लेखनीय रूपमा बढेको प्राधिकरणले जनाएको छ। हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनी र चार वटा निर्जीवन लघु बीमा कम्पनीमा यस्ता दाबीका आवेदन परेका छन्।
प्रतिक्रिया