इलाम : सहमति अनुसार हाइड्रोपावर कम्पनीले काम नगरेको भन्दै अति प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित भएका छन् । इलाममा सञ्चालित साम्लिङ हाइड्रोपावर जलविद्युत आयोजना र माइखोला जलविद्युत आयोजनाले उपेक्षा गरेको भन्दै प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् ।
अति प्रभावित क्षेत्रका बासिन्दा माथि उपेक्षा, गैर जिम्मेवार र अन्याय विरुद्ध आफूहरू आन्दोलनमा उत्रिन बाध्य भइएको मानबहादुर गुरुङको भनाई छ । प्रभावित क्षेत्रका बासिन्दाहरूले आठ बुँदे माग पत्र समेत राखेका छन् । उनीहरूले आयोजना स्थलबाट तिल्केनी सम्म पर्ने चार किलोमिटर सडक कालो पत्र गर्नुपर्ने, स्थानीयलाई खानेपानीको व्यवस्था गर्नुपर्ने, स्थानीय खेलमैदानको स्तर उन्नति गर्नुपर्ने, स्थानीय बौद्ध पार्कको सौन्दर्यीकरणमा सघाउनु पर्ने, शिक्षामा लगानी गर्नुपर्ने, वन क्षेत्रमा वृक्षारोपण गर्नु पर्ने माग गरेका छन् । त्यस्तै स्थानीयलाई उद्यमशीलता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने र रोजगारी व्यवस्था गर्नु पर्ने माग राखेका छन् ।
उनीहरूले पहिलाबाट पटक पटक आफ्ना मागहरू राख्दा पनि हाइड्रो सञ्चालकहरूले मौखिक रूपमा काम गर्ने बताए पनि व्यवहारमा नदेखिएपछि आन्दोलनमा उत्रिनु परेको बताएका छन् । उनीहरूले आजैका मितिबाट आयोजनाको पुन निर्माणका सबै कामहरू स्थगन गर्ने, विरोधसँग सबै खाले कार्यक्रमहरू सञ्चालन गर्ने, आयोजना स्थलका कार्यालयहरूमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
माई खोलामा सञ्चालित हाइड्रोपावर कम्पनीहरूले पीडित बनाएको भन्दै इलाम नगरपालिका आठका बासिन्दा आन्दोलित भएका हुन् ।
स्थानीयले खनेको सडक समेत प्रयोग गरेर मर्मत सम्म नगरेको मिलन बानियाको भनाई छ । स्थानीयको श्रमदानबाट खुलाइएको सडकबाट हाइड्रोले सबै सामान ओसार गरे पनि स्थानीय राहत मिल्ने काम नगरेको उनीहरूको भनाई छ ।
उनीहरूले अति प्रभावित महाभिर गाउँवासी स्थानीय समूह इलाम नगरपालिका ८ इलामको नामबाट प्रेस विज्ञप्ति समेत जारी गरेका छन् ।
उनीहरूले सुरुमा सरकारसँग हाइड्रो निर्माण सुरु गर्नु अघि भएको सहमति अनुसार अघि बढ्न आग्रह गरेका छन् ।
प्रतिक्रिया