इलाम अस्पतालका लागि भारत सरकारको १९ करोड ७५ लाख सहयोग गर्ने

मंगलबार, २५ कार्तिक २०८२

इलाम : भारत सरकारले इलाम अस्पतालको इमर्जेन्सी ब्लक निर्माण र अत्यावश्यक उपकरण खरिदका लागि १९ करोड ७५ लाख बराबरको सहयोग गर्ने भएको छ । इलाम नगरपालिकाले भारतीय राजदूतावास समक्ष अस्पतालको आपतकालीन सेवा विस्तारका लागि भवन निर्माण र उपकरण व्यवस्थापन सम्बन्धी प्रस्ताव पेश गरेपछि सो रकम स्वीकृत भएको हो ।

नगरपालिकाका अनुसार, सहयोगको पहिलो चरणमा उक्त रकम इलाममा पठाउने प्रक्रिया अघि बढाइएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापा र नेपालस्थित भारतीय दूतावासका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

नगर प्रमुख थापाले सहयोग प्राप्त भएपछि तत्काल टेन्डर प्रक्रिया सुरु गरी निर्माण कार्य समयमा सम्पन्न गरिने विश्वास व्यक्त गरे । उनका अनुसार, नयाँ इमर्जेन्सी ब्लकले अस्पतालमा बिरामीको उपचार सहज बनाउनेछ र इलामसहित आसपासका जिल्लाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने अपेक्षा गरिएको छ ।

भारत सरकारले विगतमा पनि नेपालका विभिन्न जिल्लामा अस्पताल, विद्यालय र सडक पूर्वाधारमा सहयोग गर्दै आएको छ । इलाम अस्पतालका लागि आएको यो सहयोगले स्वास्थ्य पूर्वाधार सुदृढीकरणमा ठुलो टेवा पुग्ने स्थानीयले बताएका छन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार