मधेशका सभामुखविरुद्ध सात दलको अविश्वास प्रस्ताव दर्ता, एमालेले गर्यो अवरोधको प्रयास

विहीबार, २७ कार्तिक २०८२

जनकपुर : मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध सात राजनीतिक दलले अविश्वास प्रस्ताव दर्ता गरेका छन्। सभामुख मण्डलले पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै गठबन्धन दलहरूले आज प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्।

६४ जना प्रदेश सांसदको हस्ताक्षरसहित सचिवालय पुगेका दलका प्रतिनिधिहरूले प्रस्ताव दर्ता गर्न खोज्दा नेकपा (एमाले) निकट कार्यकर्ताले अवरोध गर्न खोजेका थिए। तर, गठबन्धन दलका सांसदहरूले अवरोध छिचोलेर प्रस्ताव दर्ता गर्न सफल भएका छन्।

सभामुख मण्डलविरुद्ध प्रस्ताव दर्ता गर्न उपसभामुखले तोक लगाइसके पनि सभामुख स्वयंले प्रक्रिया रोक्दै आएको बताइएको छ। तर अन्ततः सचिवालयका कर्मचारीले औपचारिक रूपमा प्रस्ताव दर्ता गरेका छन्।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सात दलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी रहेका छन्।

गठबन्धन दलहरूले सभामुख मण्डलले एमालेको पक्षमा पक्षपातपूर्ण निर्णय गर्दै सभाको मर्यादा भङ्ग गरेको आरोप लगाएका छन्। अब सभामुखविरुद्धको प्रस्ताव प्रदेश सभामा छलफलका लागि पेश गरिनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार