फोहोर व्यवस्थापनमा हेलचेक्र्याइ : नदीलाई डम्पिङ साइट बनाउँदा बस्तीमा असर

शनिबार, २९ कार्तिक २०८२

सिरहा । गाउँबाट नगर हुँदै विशाल शहरको रुपमा समाज विकसित हुँदैछ। तर शहरीकरणबाट उत्पादित फोहोर व्यवस्थापन विकराल समस्या बनेको छ।

फोहोरको उचित व्यवस्थापन हुन नसक्दा र मानव बस्ती छेउको नदीमा फोहोर फाल्दा वरपरका गाउँमा विरामीहरुको संख्या बढ्दै गएको छ। विशेषगरी क्यान्सरका रोगीहरु बढी मात्रामा देखिने गरेका छन्।

सिरहाको गोलबजार जहाँ दैनिक १२ टन फोहोर उत्पादन हुन्छ। पसल र गुद्री हाट बजारबाट निस्केको प्लाष्टिक र अन्य फोहोरहरु नगरपालिकाले संकलन गरेर स्थानीय गागन नदीमा फाल्ने गर्छ।

नगरपालिकाले निश्चित स्थानमा वैज्ञानिक मापदण्ड अनुरुप फोहोर विसर्जन गर्ने ल्याण्डफिल्ड साइट बनाएको छैन्। बजारबाट फोहोर संकलन गर्ने र ट्रयाक्टरमा ओसारेर नदीमा फालिदिन्छ।

फोहोर फालिएको स्थान वरपर नदी किनारमा गोलबजार नगरपालिकाको वडा नं. २ र ३ का मानव बस्तीहरु गुरुधाम र जमनटोकी गाउँहरु छन्।

फोहोरको दुर्गन्धले गाउँका जनता उत्पिडीत मात्र छैनन् विभिन्न रोगले ग्रसित पनि छन्। दुई गाउँमा विगत पाँच वर्षभित्र १३ जनामा क्यान्सर रोग देखिएको र ती मध्ये १० जनाको मृत्यु भइसकेको स्थानीय स्वास्थ्य संस्थाहरुको तथ्यांक छ।

स्थानीय मधु राई फोहोर फाल्ने नगरपालिकाले निश्चित ल्याण्डफिल्ड साइट बनाएर प्लाष्टिकजन्य फोहोर एकातिर र सडाउन मिल्ने फोहोर अर्कोतिर छुट्याएर व्यवस्थापन गर्न नसकेको बताउँछन्।

‘नगरपालिकाले सबै फोहोर नदीमा फालेर प्लास्टिकमा आगो लगाउने गर्छ। त्यसैगरी नदीमा बाढी आउँदा फोहोर बगाएर खेत खेतमा पुर्‍याउँछ। जमिन बञ्जर गराउँछ। मेडिकलजन्य फोहोरहरु पनि यही ठाउँमा मिल्काउने गरिन्छ,’ उनले भने।

अर्का स्थानीय दिनेश यादव फोहोर अव्यवस्थित रुपमा फालिएकाले वातावरणमा नाकारात्मक असर परेको र दुर्गन्ध फैलिएको छ बताउँछन्।

‘फोहोरका कारण चराचुरुङ्गीहरुमा रोग व्याधी फैलिएको छ। पशुहरुको चरिचरण मासिएको छ। गागन नदीमा छठ पर्वको घाट बनाइन्थ्यो तर फोहोर विसर्जन स्थल बनाइएको हुनाले यो साँस्कृतिक विरासत र धरोहर मासिएको छ। किसानहरु वरपर खेतवारीमा आएर काम गर्न नसक्ने स्थिति उत्पन्न भएको छ,’ यादवले भने।

फोहोर व्यवस्थापन नहुँदा स्थानीय नगरपालिकाप्रति आक्रोसित भएका छन्। उनीहरुले फोहोर व्यवस्थापनको लागि मापदण्ड अनुसार वैज्ञानिक पद्धति अपनाउन गोलबजार नगरपालिकालाई अल्टिमेटम दिएका छन्। एक महिना भित्र फोहोर व्यवस्थापनको विकल्प नखोजिए आन्दोलन गर्ने चेतावनी दिएका छन्। स्थानीय अनिल गिरिले नगरपालिकाले तत्काल समाधान खोज्नुपर्ने बताउँछन्।

नगरपालिका भने नागरिकको आवाज नसुनी एकोहोरो नदीमा नै फोहोर फाल्ने पक्षमा देखिन्छ। नगरपालिकाको फोहोर व्यवस्थापनमा कमजोरी रहेको कारण स्थानीयको स्वास्थ्यमा गम्भीर असर परिरहेको स्थानीय आदित्य प्रतापले बताए।

उक्त विषयमा नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतको राय बुझ्न खोज्दा उनीहरुले प्रतिक्रिया दिन चाहेनन्।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार