इलाम: माइजोगमाई गाउँपालिकाको नयाँबजारमा लागदै आएको बालाचतुर्दशी मेला यसवर्ष पनि लाग्ने भएको छ । मेलाको तयारी अन्तिम तयारीमा पुगेको छ ।
मेला मंसिर २ देखि १० सम्म सञ्चालन हुने जनाइएको छ । आयोजक मूल समिति अध्यक्ष सञ्जय भण्डारीका अनुसार गतवर्षको सफलतापछि यो वर्ष मेला अझै आकर्षक र व्यवस्थित बनाउन विभिन्न तयारी तीव्र गतिमा भइरहेको समितिले जनाएको छ ।
मेला अवधिभर नयाँबजार क्षेत्र धार्मिक, सांस्कृतिक र व्यापारिक गतिविधिले झनै चहलपहलमय बन्ने आशा गरिएको छ । मंसिर ३ गते पर्ने बालाचतुर्दशी मेलाको मुख्य दिनमा भने उत्तरे पोखरी, शिव मन्दिर क्षेत्र र बालागुरुको प्रतिमास्थलमा बिहानैदेखि भक्तजनको भीड लाग्नेगर्छ ।
बालाचतुर्दशीको दिन यी क्षेत्रमा आफ्ना दिवंगत पितृको सम्झनामा सतबीज छर्ने कार्यक्रम हुँदै आएको छ । साथै पितृको सम्झनामा दीप बोकेर परिक्रमा गर्दा भाकल पूरा गर्ने जनविश्वास छ ।
मेलामा नेपाल तथा भारतका दार्जिलिङ, सिलगुडी, मिरिक, कस्र्याङलगायतका क्षेत्रबाट समेत भक्तजनहरू आउने गरेको आयोजक समितिले जनाएको छ ।
प्रतिक्रिया