दमकको मानव उद्धार सेवा केन्द्रबाट तीन महिला फरार

सोमबार, ०१ मंसिर २०८२

झापा : दमक नगरपालिका–२ स्थित मानव उद्धार सेवा केन्द्रबाट तीन महिला फरार भएको घटनाले उद्धार केन्द्रहरूको सुरक्षा र व्यवस्थापन पुनः चर्चामा आएको छ।

कात्तिक ३० गते राति फरार भएका महिलाहरू मध्ये एक जना फेला परेकी छन् भने दुई जनाको खोजीकार्य जारी छ।

उद्धार केन्द्रका कर्मचारीले महिलाहरू भागेको जानकारी इलाका प्रहरी कार्यालय दमकलाई तत्काल दिएका थिए।

जानकारी पाएलगत्तै प्रनानी यज्ञ श्रेष्ठको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

फरार हुने महिलामा मिना तामाङ, शान्ति मगर र विनिशा गौतम रहेका थिए। तीमध्ये २४ वर्षीया विनिशा गौतमलाई इलाका प्रहरी चौकी ताराबारीबाट निस्किएको प्रहरी टोलीले दमक–४ वडा कार्यालय अगाडिको सडकमा हिँडिरहेका अवस्थामा फेला पारी पुनः उद्धार केन्द्रमै बुझाएको हो।

मिना तामाङलाई गत असोज ३ गते, शान्ति मगरलाई असार २६ गते र विनिशा गौतमलाई कार्तिक २६ गते विभिन्न स्थानबाट उद्धार गरी सो केन्द्रमा राखिएको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले फरार भएका अन्य दुई महिलाको खोजी कार्य तीव्र रूपमा जारी रहेको जानकारी दिए।

यसअघि मेचीनगरस्थित मानव सेवा आश्रममा केही समयअगाडि एक व्यक्तिको निधन भएको घटना पनि चर्चामा आएको थियो।

उद्धार तथा आश्रय केन्द्रमा देखिएका यस्ता आवृत्त घटनाले पीडितहरूको सुरक्षासम्बन्धी संवेदनशीलता र व्यवस्थापन प्रणालीबारे गम्भीर प्रश्नहरू उठेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार