विराटनगर : पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका किसानहरूले जुटखेती छोडेर धानखेतीमा लाग्न थालेका छन्। बजार सुनिश्चित नहुने, कच्चापदार्थको अभाव र प्रतिस्पर्धी भारत तथा बङ्गलादेशको सस्तो जुटका कारण किसानहरूले अब जुटखेती कम गर्न थालेका हुन्। यसको असर स्थानीय जुट उद्योगमा पनि परेको छ।
सुनसरीस्थित जुट अनुसन्धान कार्यालयका अनुसार यस वर्ष देशभर ११ हजार हेक्टर जग्गामा मात्र जुटखेती भएको छ। मोरङमा ७ हजार हेक्टर, सुनसरी र झापामा चार हजार हेक्टरमा जुटखेती भएको देखिएको छ। प्रति हेक्टर उत्पादन एकदेखि डेढ मेट्रिकटनसम्म सीमित रहेको छ। पश्चिम नेपालको कैलाली र बर्दियामा करिब २०० हेक्टरमा मात्र जुटखेती हुने गरेको तथ्यांक छ।
अनुसन्धान कार्यालयले आफ्नै परिसरमा १० हेक्टर जग्गामा जुटको बीउ उत्पादन गर्दै आएको छ र इटहरी उपमहानगरपालिकाका विभिन्न वडामा उन्नत जातको बीउ उत्पादन र परीक्षण गरिसकेको छ। यसलाई विस्तार गर्दै आगामी दिनमा थप वडामा बीउ उत्पादन गर्ने लक्ष्य राखिएको छ।
पूर्वी तराईमा जुटखेती गर्दा साना र ठूला उद्योगहरू सञ्चालनमा रहँदै आएका थिए। केही वर्षअघिसम्म ११ वटा जुट उद्योग सञ्चालनमा थिए भने अहिले मात्र छ वटा उद्योग मात्रै चलिरहेका छन्। मोरङको विराटनगर क्षेत्र जुटमिलका लागि प्रसिद्ध भए पनि अहिले कच्चापदार्थको अभाव, उत्पादन घट्नु र किसानको रोजाइमा नपर्नुका कारण उद्योगहरू धरासायी बन्दै गएका छन्। नेपालमा उत्पादित जुटले उद्योगका लागि आवश्यक १० प्रतिशत मात्र पूर्ति गर्छ; बाँकी ९० प्रतिशत भारत र बङ्गलादेशबाट आयात गर्नुपर्ने बाध्यता छ।
जुट उद्योग सङ्गठन मोरङका अनुसार दैनिक प्रयोग हुने कार्पेट, बोराका लागि आवश्यक कच्चापदार्थको अभावले उद्योगमा संकट सिर्जना गरेको छ। यस वर्ष ४० केजीको जुटको मूल्य पाँच हजार रुपैयाँ पुगेको छ।
स्थानीय किसान र कृषकका अनुसार वातावरणमैत्री जुटले खेतलाई जैविक मल प्रदान गर्ने र जुट प्रशोधनको क्रममा निस्कने डाँठ दाउराको इन्धनको रूपमा प्रयोग हुने भएकाले राज्यबाट आकर्षक प्रोत्साहन कार्यक्रम ल्याएर उत्पादन बढाउन आवश्यक छ। किसान र उद्योग दुवैको हितका लागि जुटखेतीलाई पुनर्जीवित गर्ने पहल आवश्यक रहेको स्थानीयले बताएका छन्।
राससको सहयोगमा
प्रतिक्रिया