भद्रपुर । वैशाखमा सम्पन्न १३औं राष्ट्रपति रनिङ शील्ड राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने झापाका खेलाडीलाई जिल्ला खेलकुद विकास समिति झापाले सम्मान गरेको छ ।
मेची रंगशालास्थित कभर्ड हलमा समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले विजेता खेलाडीलाई नगदसहित सम्मानपत्र प्रदान गरे ।
समितिले राष्ट्रिय खेलकुदमा एथलेटिक्सको ट्रिपल जम्पतर्फ स्वर्ण पदक विजेता राजीव ढुंगानालाई पाँच हजार, पुरुष कबड्डीमा रजत पदक विजेता अमन ताजपुररिया र आदर्श सहनीलाई तीन हजार, महिला कबड्डीमा कास्यपदक विजेता मनमाया तामाङ, राधिका कुमाल र सविना मावो, करातेमा कास्यपदक विजेता पुस्चल रामदान र समिर मगरलाई दुई हजार नगदसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरियो ।
कार्यक्रममा खेलकुदको विकासका लागि योगदान पुर्याएकामा समितिले भद्रपुर नगरपालिका, कनकाई नगरपालिका, अर्जुनधारा नगरपालिका, कनकाई नगर खेलकुद विकास समिति, भद्रपुर झापा गोल्डकप, झापा गोल्डकप र सहारा नेपाल साकोसलाई पनि सम्मान गरेको थियो ।
भद्रपुर नगरपालिकाकातर्फबाट नगरप्रमुख गणेश पोखरेल, कनकाई नगरपालिकाको तर्फबाट नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, अर्जुनधारा नगरपालिकाको तर्फबाट किरण श्रेष्ठ, कनकाई नगर खेलकुदविकास समितिको तर्फबाट समितिका अध्यक्ष जीवन तिम्सिना, भद्रपुर झापा गोल्डकपका तर्फबाट अध्यक्ष दिपेश ढकाल, झापा गोल्डकपका तर्फबाट अध्यक्ष विनोद बस्नेत र सहारा नेपाल साकोसका तर्फबाट अध्यक्ष हरि राजवंशीले सम्मानपत्र ग्रहण गरेका थिए ।
मन्त्री भएपछि पहिलो पटक झापा आएका लिम्बूलाई समितिले स्वागत गर्दै कदरपत्रप्रदान गरेको थियो । समितिका अध्यक्ष भण्डारी, उपाध्यक्ष गंगा भूर्तेल, कार्यालय सचिव विष्णु नेम्बाङलगायत समितिका पदाधिकारी–सदस्य र प्रशिक्षकहरुले संयुक्त रुपमा मन्त्री लिम्बूलाई कदरपत्र हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया