नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो

आइतबार, १० असार २०८०
काठमाडौं । नेपाल १४  संस्करणको साफ च्याम्पियनसिपको समूहचरणबाटै बाहिरिएको छ। शनिबार राति बैंगलोरमा भएको खेलमा नेपाल भारतसँग २-० गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। भारतीय भुमिमा नेपाल पुन अर्कोपटक जितविहीन रह्यो। नेपाल पराजित भएसँगै भारत र कुवेतले सेमिफाइनलमा स्थान बनाएका छन्। पहिलो हाफ गोल रहित बराबरी खेलेको नेपाल दोस्रो हाफमा भने भारतसँग गोलखानबाट जोगिन सकेन। भारतको गोलविहीन यात्रा सुनिल क्षेत्रीले तोडेका थिए। सुनिलले करिअरको ९१ औ अन्तराष्ट्रिय गोल पुरा गर्ने क्रममा ६१ औ मिनेटमा टिमका लागि महत्वपूर्ण गोल गरेका थिए। दोस्रो हाफमा एकपछि अर्को गोल निकालेको भारतका लागि दोस्रो गोलमा पनि सुनिलको सानदार सहयोग रह्यो। उनको प्रहार किरण चेम्जोङले रोक्दै क्रसबारमा लागेर फर्किएको बललाई ७० औं मिनेटमा महेश सिंहले गोल गर्दै टिमलाई २-० को अवस्थामा पुर्याएका थिए। त्यसपछि थप गोल हुन नसक्दा नेपाल २-० ले पराजित भयो। जितसँगै साविक च्याम्पियन भारत साफ च्याम्पियनसिपको अन्तिम चारमा एक खेल अगावै स्थान बनाउन सफल भयो। नेपालको पराजयसँगै कुवेत र भारत सेमिफाइनलमा पुग्दा नेपाल र पाकिस्तान एक खेल अगावै प्रतियोगिताबाट बाहिरिए। अब पाकिस्तानसँग अन्तिम खेल नेपालका लागि प्रतिष्ठाको रुपमा मात्र रहने छ। समूह विजेताका लागि भने भारत र कुवेतबिचको खेल महत्वपूर्ण हुने छ। प्रतियोगिताको पहिलो खेल नेपाल कुवेतसँग ३-१ ले पराजित भएको थियो। भारतले भने पहिलो खेलमा पाकिस्तानलाई ४-० ले हराएको थियो। भारत र कुवेतले समान ६ अङ्क बनाउँदा समूह ‘ए’ मा नेपाल र पाकिस्तान अङ्क बिहीन छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार