विराटनगरमा आजदेखि राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता

बुधबार, १३ असार २०८०
विराटनगर । विराटनगरमा आज बुधबारदेखि प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता हुँदैछ । प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा प्रतियोगिता हुने भएको हो । मोरङ जिल्ला सफ्ट टेनिस संघको संयोजनामा शहीद रंगशाला र विराटनगर जुट मिल्सको टेनिस कोर्टमा आगामी १६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ । संघका अध्यक्ष श्याम लामाले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । प्रतियोगितामा सहभागी हुने टोली विराटनगर आइसकेको उनले बताए । प्रतियोगितामा ५ वटा प्रदेशसहित ३ वटा विभागीय टोलीको सहभागिता रहने जानकारी लामाले दिए । उनका अनुसार कोसी, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाल पुलिस, सशस्त्र प्रहरी बल (एपीएफ) र आर्मीले भाग लिने पक्का भएको छ । प्रतियोगितामा ५ इभेन्ट्सका खेल हुनेछ । पुरुष, महिला सिंग्लस, पुरुष÷महिला डबल्स र मिस डबल्सका इभेन्टमा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ८० जनाभन्दा बढी खेलाडीको सभागिता रहने जनाइएको छ । प्रतियोगितामा पुरुष÷महिला सिंगल्सतर्फका विजेताले ३५ हजार, उपविजेताले २५ र तृतीय हुनेले जनही १५÷१५ हजार तथा पुरुष, महिला डबल्सतर्फका विजेताले ३० हजार, उपविजेताले २० हजार र तृतीय हुनेले जनही १०–१० हजार एवं मिस डबल्सतर्फका विजेताले ३० हजार, उपविजेताले २० हजार र तृतीय हुनेले जनही १०–१० हजार रूपैयाँ नगद पुरस्कार तथा ट्रफी पाउने छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार